Tuesday, July 14, 2015

जाउँ दुधपोखरी (फोटो ब्लग)

            जाउँ दुधपोखरी (फोटो ब्लग)
image
दुधपोखरी
छिटै जनै पुर्णिमा आउन लागेको छ। त्यस दिन नेपालमा गोसाइँकुण्ड, दुधपोखरी लगायतका धेरै ठाउँमा मेला लाग्छ। नेपालका धेरै स्थान दुधपोखरी नामले चिनिन्छिन्। ती मध्य माथीको फोटोमा देखिएको दुधपोखरी कास्की, लमजुङ र मनाङ जिल्लाको सिमानामा अवस्थित हिमताल हो। दुरी यकिन गर्न नसके पनि यो ठाउँ पुग्न कास्कीबाट चार दिन लगातार हिँड्न पर्छ, लमजुङको भुजुङ् गाउँ हुँदै आउने भने दुई दिनमा पुगिन्छ भन्ने सुनियो। मनाङबाट पनि बाटो रहेछ तर कति समय लाग्छ भन्ने जानकारी पाउन सकिएन। कास्कीबाट तीनवटा बाटो छन, पहिलो सिक्लेस हुँदै, दोस्रो ताङ्तिङ् हुँदै, तेस्रो थुम्सिकोट हुँदै। हामी सिक्लेसको बाटो हुँदै गएका थियौँ। पहिलो बास सिक्लेस पछि दोस्रो दिनदेखि मानव बस्ती भेटिँदैनन्। त्यसैले आफ्नो बन्दोबस्तीका सामान आफैं बोकेर लैजानु पर्छ। यदि जाने प्लान बनाउनु भएको भए स्लिपिङ् ब्याग, ओछ्याउने म्याट, न्याना कपडा, मोजा, जुत्ता, चप्पल, अन्न, दाल, गुन्द्रुक, सुकुटि, नुन, चिनी, तेल, मसला, अचार, पकाउने र खाना खाने भाँडा, पानी बोक्ने भाँडा, हल्का तर अत्याधिक पौष्टिक पद्धार्थ भएका खानेकुरा (जस्तै सातु, मह, चकलेट, ओटमिल, चिउरा, चाउचाउ, दालमोठ), पिउने बानी भए दारु (धेरै जाडो हुन्छ त्यसैले), टर्चलाइट, चक्कु, लठ्ठी, चियापत्ती, आवश्यक औसधी, अतिरिक्त मोबाइल ब्याट्री, एउटा नोकिया ११०० फोन र एनटिसी र एनसेलको एक एक वटा ब्यालेन्स भएका सिमकार्ड, छाता, रेनकोट, केही थप प्लास्टिकका टाट, एउटा पाल जसरी पनि लैजान भुल्नु हुँदैन। सकभर अनावश्यक सामान नलैजानु होला। >more<

यदि भारी बोक्न सकिन्न भने पोखरामा दैनिक एक हजार – पन्ध्र सय ज्यालामा भरिया पाउन सकिन्छ, दुई जनासम्मको बन्दोबस्तीका सामान एकजनाले बोक्न सक्छन्। गरिब भएपनि उनीहरु पनि मान्छे नै हुन, पैसा तिरेको छु भन्दैमा अनावश्यक भारी नबोकाइदिनु होला, खानेकुरा किन्दा उनीहरुको लागि पनि किन्नु होला। हामी जाँदा तिर्थयात्री हरुले भरिया हरुलाई गरेको ज्यादती देख्दा यीनीहरु पाप धुन जाँदैछन् कि थप पाप बटुल्न जाँदैछन् जस्तो सोचाइ आएको थियो, त्यसैले पहिल्यै भन्देको। सकभर दुधपोखरी पहिले पनि गएका भरिया लैजानुहोला।
image
भरिया हरु आफूभन्दा गर्हौँ भारी बोकेर यस्तो बाटोमा पनि कत्ति सजिलै हिड्छन।
प्रथमत: दुधपोखरी जाने प्लान बनाउनु अघि निश्चित गर्नुहोस कि तपाईँ लगातार ८-९ दिनको बाटो गर्हौँ झोला बोकेर हिँड्न सक्नुहुन्छ कि हुँदैन? ठिक्क ले हिँड्दा जाँदा ४ दिन, आउँदा ४ दिन, १ दिन थप। यदि हिँड्ने बानी छैन भने तपाईंलाई यो यात्रा एकदमै कष्टकर हुनेछ। त्यसमाथि थकान र कमजोरीले कसैकसैको खुट्टा फर्कने, बाउँडिने समस्या हुन्छ, कतिपय त हिँड्नै नसक्ने अवस्थामा पुग्छन्। त्यस्तो अवस्थामा न अघि जानु न फर्कनु हुन्छ, तपाईँले गर्दा तपाईसँग गएका साथी हरुलाई अप्ठेरो पर्नसक्छ। यो क्षेत्रमा फोन मुस्किलले लाग्छ कतै कतै, फोन गरेर राहत मगाएर फर्किन्छु भन्ने नचिताए पनि हुन्छ। त्यसैले आफु शारीरिक रुपमा सक्षम छैन जस्तो लाग्छ भने यति लामो पदयात्रा नगरेको नै राम्रो।

image
सिक्लेस
सबैभन्दा रमाइलो समुह बनाएर जाँदा हुन्छ, मन मिल्ने साथीहरू सँग जाँदा यात्रामा समय बितेको थाहै हुँदैन, थकान पनि त्यति महशुस हुँदैन। तर यो रुटमा साथीहरुको सामुन्ने हिरो बन्छु भन्दै बाटै नचिनी अगाडि अगाडि जेपिटी बाटो नहिड्नु होला। बर्षमा एकपटक मात्रै हिँडिने बाटो भएकाले घाँसले बाटो पुरिएर नदेखिने भएका हुन्छन्, त्यस्तो अवस्थामा एक्याप ले गाडेका पहेँलो रङ्गका पोल हरु हेर्दै अघि बढ्न सकिन्छ, बाटो चिनेको भरिया लैजानु भएको भए धेरै सजिलो हुन्छ, नत्र अरु तिर्थयात्री हरु पनि हिँडीरहेका हुन्छन्, उनैको साथ लाग्नु  हुन्छ।


एक्यापले पदयात्री नहराउन भनेर ठाउँ ठाउँमा साना पोल गाडिदिएका छन, एउटा पोलमा पुगेपछि अर्को पोल देखिन्छ, पहिलोपटक जानेहरु तीनै पोल हेर्दै बाटो पहिल्याउँदै जाने हो। समाजसेवीहरुले एकदिनको बाटोको दुरीमा पाटिहरु पनि बनाइदिएका छन, धेरैजसो पाटि खानेपानीको सुविधा भएको ठाउँमा अवस्थित छन, र केहीमा शौचालयको पनि ब्यवस्था छ। कतै दाउराको पनि ब्यबस्था हुन्छ तर ढुक्क भएर जानुभन्दा आफैसँग एउटा सानो ग्यास या मट्टितेल स्टोभ लैजानु ठिक हुन्छ। एउटा अचम्मलाग्दो कुरा के देखें भन्दा जति उचाइमा गयो उति खाना पाक्न समय लाग्दो रहेछ। हामी जाँदा चिया पाक्न लगभग एक घण्टा लागेको थियो। भात पकायो, तल तल पाक्छ माथिको काँचै रहन्छ, त्यसैले त्यस्तो समयमा भातको साटो अन्य केही खान बेस हुन्छ। भोलीपल्ट पाटि छोड्नु अघि पाटि सफा गरेर, आफुले फ्याँकेका फोहर हरु जलाएर मात्र हिड्नु होला।
image
पाटि

यस्ता उचाइमा जाँदा सबैभन्दा ठुलो ब्यवधान भनेको लेक लाग्नु हो। श्वासप्रश्वासमा समस्या आउनु, मुटुको धड्कन बढ्नु, बान्ता आउनु, जरो आउनु लेक लाग्दा का लक्षण हुन। त्यसैले धेरै आत्तिएर नहिड्नु होला, धेरै सुस्त पनि नहिड्नु होला, बिस्तारै एउटै गतिमा हिँडिरहनु होला, बिश्राम थोरै मात्र लिनुहोला, सकभर उभिएरै बिसाउनुस, थुचुक्कै चाहिँ नबस्नु होला। नत्र बसेको बसेइ भइएला फेरी। क्याण्डी, ल्वाङ्, सुकमेल, लसुन, अदुवाको टुक्रा गोजीमा राखिराख्नु होला, हिँड्दा केहि न केही मुखमा च्यापिराख्नु होला। आमालाई तीलको अचार बनाइदिनु भन्नु होला। यसले लेक लाग्न कम गर्छ। सकभर धुम्रपान नगरेको राम्रो, गरे पनि एकदमै न्युन मात्रामा गर्नुहोला। लेक लागेको फिल भए थप उचाइमा नजानु होला। एकछिन बिसाएर कोशिश गर्नुहोला, सक्दिन झैँ लाग्यो भने फर्किएको राम्रो। तर फर्किने अवस्था आउने छैन भन्ने मलाई लाग्छ किनभने बाटोमा बिभिन्न उमेर, किसिमका तिर्थयात्री भेटिनेछन। बृद्ध बृद्धाहरु टुँइ टुँइ हिँडेको देखेपछि तपाईको आत्मबल त्यसै बढेर जानेछ।
image
बाटो पुरै उकालै उकालो हो, समतल बाटो को त अपेक्षा नगरे पनि हुन्छ। उकालो पनि नाक ठोकिने ठाडो उकालो। फर्किँदा चाहिँ ओरालै ओरालो। दोस्रो दिन हिँड्न एकदमै मुस्किल हुनेछ, पहिलो दिन एक्साइटमेन्टले हिँडिएला, त्यसको प्रतिफल भोलीपल्ट नै देखिन्छ। बेकारमा आएछु जस्तो हुन्छ। उच्च पहाडी भेकका जंगल कट्न गार्हो हो त्यसपछिको माहौल फेरी अर्कै हुन्छ। एक त हिड्ने बानी पर्न थाल्छ, अर्को मुखै अगाडी हिमाल र सुन्दर दृश्य देख्न थालेपछि थकान सकान चट् हुन्छ।
image
image
image
तेस्रो दिनदेखि जंगल सकिन्छन, ससाना बुट्यान मात्रै हुन्छन्, पर पर सम्म हरिया डाँडा, डाँडामा भेडा चरेका, जता हेर्यो उता जंगली फुलै फुल मात्रै, अनि टिलिक्क टल्केका हिमाल देखेपछि तपाईंलाइ एकपटक त स्विजरल्याण्ड पुगेछु कि झैँ लाग्नेछ। यदाकदा भेडीगोठ हरु देखिन्छन्, भेडीगोठालाहरु गोठबाट बटुवालाइ जिस्काउँछन। उनीहरू यो सिजनमा त्यता उक्लिँदा रहेछन्, उनीहरूको अनुसार जंगली फुल जेठ असार देखी फुल्न शुरु गरेर भदौ असोज सम्म रहँदा रहेछन्, त्यसपछि त्यो पुरै भेक हिउँले ढाकिने रहेछ। भदौ अन्तिम – असोज शुरुका हप्तामा सबैभन्दा बढी फुल फुल्ने र ती फुलका बिषालु बासनाले मान्छे, भेडाको लठ्ठीएर ज्यान समेत जाने हुँदा उनीहरु पनि भेडा लिएर भदौ दोस्रो हप्तातिर बेसी झर्दा रहेछन्। त्यो क्षेत्रमा दुधपोखरी मेला भर्न जाने तीर्थालु र एक दुई भेडिगोठाला बाहेक अन्य मानवीय चहलपहल शून्य रहेछ। कहिले जनै पुर्णिमा ढिलो पर्यो भने फूलका बासनाले तिर्थालुहरु बाटैमा ढल्दा रहेछन्। त्यसैले तपाईँ हरुपनि राम्रा फुल देखेर, छुने टिप्ने या बासना सुँघ्ने काम नगर्नु होला। सकभर मास्क लगाउनुस। टाढैबाट हेर्न, फोटो खिच्न केही नहोला।
image
image
image
image
image

साभार  https://beingnrb.wordpress.com



No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्