नाटक
घमराज लुइँटेल
घमराज लुइँटेल
राता, पहेँला र दुधिला मधुरा बत्ती बलिरहेका छन् । रंगीन मधुरो प्रकाश
टेबलमा छरिएको छ । टेबल विभिन्न आधुनिक रिकापी र कचौराले भरिएको छ । ठूलो
डायनिङ्ग टेबलको वरिपरि गजुर जस्तै बुट्टा काटिएका आरामदायी कुर्सी छन् ।
हरेक कुर्सीले मोटामोटा गोल–भुँडीवाल मानिसहरूलाई थामेका छन् । करीब पाँच
फिट केही इन्च उचाइका यी भुण्टेहरूका ज्यान दौरा सुरुवालले बेरिएका छन् ।
अलि परबाट हेर्दा कुर्सीमा फर्सी बसेको जस्तो भान हुन्छ ।
भिन्न भिन्न रिकापीहरूमा टन्न खसीको कबाफ, सेकुवा, साँधेको टाउको,
बँदेलको उसिनेको मासु, हाँसको छोइला, साँधेको कुखुरा, कुखुरा तन्दुरी
(चिकेन तन्दुरी), मुला र अदुवाको कुहाएको अमिलो अचार, पिरो कुखुरा (चिकेन
चिल्ली) परिकार, भेनेगरमा डुबाइएको काटेको खुर्सानी र भट्मासको सस राखिएको छ
। साँधेको बदाम र काजु पनि यत्रतत्र देखिन्छ । सबैका कुर्सीमा कोट
झुण्डिएका छन् । टेबलका छेउछेउमा भने ढाका टोपी
टेबलमा वाइन, स्कच र भिन्न भिन्न ब्राण्डका बियरका बोतल कुनै आधा भरी,
कुनै चौथाई खाली र कुनै तीनभाग भरी अवस्थामा छन् । अग्ला सुकिला काँचका
गिलासमा यिनै रक्सी र बियरको झोल छ । कुनै गिलास केही भरी छन् त कुनै निकै
रित्तिएका । एक छेउमा बरफका ढिक्का छन् भने अर्को छेउमा मिनरल पानी । हात
पुछ्ने कागजका सफा टुक्रा (नेप्किन पेपर) राखिएका छन् भने रुमाल समेतको
सेवा छ । कपडामा लाग्ला भनेर रुमाल यसो कम्मर मुनि फिँजाएर राखेका छन् ।
छेउमा सफा सेता पोशाकमा रहेका टहलेहरू तैनाथ छन् । बेलाबेलामा एउटा गजक्क
परेको जुँघामुठे पनि छेवैमा आई ‘के कस्तो भइरहेको छ, के टक्र्याऊँ हजुर’
भनेर सोध्दै जाँदै गरिरहेको छ । मधुर संगीतले वातावरण हल्का बनाइदिएको छ ।
सबैका अनुहार हँसिला छन् । ‘हाहाहा’ को ठहाकाले बेलाबेलामा कोठा
गुन्जिने गर्छ । ‘हजुरलाई बधाई छ’, रक्सी र बियरका गिलासले चियर्स गर्दै
एउटा बोल्यो । पर्तिरपट्टि केही टेबल भए पनि सबैमा रिजर्भ लेखिएको छ ।
रिजर्भ लेखिएका बाँकी सबै टेबल खाली छन् । एउटा मात्र टेबलमा उनै भुण्टेहरू
नशामा मग्न हुँदै जाँदैछन् । घडीले रातीको नौ बजाएको छ । रमाइलो
उत्कर्षतिर बढ्दैछ ।
‘लौ हजुर बधाई,’ अर्को भुण्टेले १० पल्ट जति सुर्क्याइसकेको रक्सीको
गिलास उठाउँदै मातेको स्वरमा भन्यो । सबैले ‘हेहे….. बधाई’ भन्दै फेरि
गिलास ठ्वाङ्ग ठोक्काए । ‘लौ, भर्खरै बढुवा अनि तलब बृद्धि भएन त मजा !’
अर्काले सेकुवा मुखमा हाल्दै भन्यो । ‘हाहाहा’, फेरि ठहाका ।
‘यसपल्ट ता चौकामाथि छक्का भो नि हजुर’, अर्काले हाँसको छोइला भेनेगरको खुर्सानीयुक्त झोलमा डुबाएर क्वाप्प मुखमा हालेर भन्यो ।
‘अनि यसपल्ट भनेको स्वाँठ राजनीतिक नेताहरूको सरकारले बजेट बनाएको हो र !
यो ता हाम्रा लागि हामी आफैँले बनाएको बजेट हो नि । अनि अहिले पनि मजा नभए
कहिले हुन्छ त, हैन हजुर !’ अर्काले पीरो कुखुरो चपाउँदै थप्यो ।
‘ए भाइ, साहुजीलाई बोलाउनुस् त ।’ अर्काले फर्मायो । ‘यो देश हाँक्ने
हामी पो यहाँ छौँ त, सरकारका विशिष्ट कर्मचारी, लौ छिटो बोलाउनुस् त !’
अर्काले रक्सीकै सूरमा थप्यो ।
‘हजुर, के सेवा गरौँ,’ रेष्टुरेन्टको उही जुँघामुठे साहु अगाडि विनयशील भएर उभिन्छ ।
‘ल हेर्नुस् है साहुजी, तपाईको नाम के रे ? ठीकै छ नाम जे भए पनि । कुरा
के भने तपाईको यो कोठामा बसेर अघिपघि मान्छेले खाँदा जति बिल उठ्थ्यो,
त्यो सबै हामी तिछौं, केही छ भने भन्नुस् है । खानेकुरा चाहिँ स्वादिलो
आउनुपर्छ नि ।’ अर्काले साहुलाई भन्यो । माद चढिसकेको बुझेर साहुले भन्यो,
‘भैहाल्छ नि हजुर!’ ‘ए केटा हो, याँ सरहरलाई राम्ररी हेर है’, यति भन्दै
साहु काउन्टरतिर लाग्छ ।
खुवाइको स्वादमा भुण्टेहरूका गफ र हाँसो रेष्टुरेन्टमा गुन्जिरहेको छ ।
आज रेष्टुरेन्ट पूरै रिजर्भ छ । ‘लौ हेर्नुस्, मन्त्री को छन्,कर्मृचारीबाट
अवकाश पाएका र बहालवाला होइनन् त ! तलब बढ्दा उनको पेन्सन पनि बढ्छ कि
बढ्दैन? यसको राजनीति कहाँ छ ! १८ प्रतिशत तलब बृद्धि, एक हजार भत्ता । कति
भो?’ हाहाहा । फेरि ठहाका ।
‘अब भन्नुस् है हजुर, अस्ति बढुवा हुँदाको तलब कति थपियो? ग्रेड कति
थपियो? फेरि अहिले बढ् तलब र भत्ता । कति भो?’ हाहाहा । फेरि अट्टहास ।
‘कहाँ तेति मात्रै हो त हजुर ! अनि बेलाबेलामा आउने भत्ता कता गो नि !
विदेश भ्रमण । स्वदेशकै निरीक्षण भ्रमण । फेरि खाममा आउने, खातामा जम्मा
हुने त छुट्टै छ नि !’ हाहाहा । हेहेहे । फेरि रेष्टुरेण्ट गुन्जियो ।
‘हजुरको गिलास त अघिदेखि रित्तैछ, लिइस्योस् न सर । खै, म थपिदिउँ,’
एउटा अलिक बढी लागिसकेको चाहिँ अर्काको गिलासमा रक्सी थप्दैछ । ‘भो भो
हजुर, यो सरकारले तलब ह्वात्तै बढाए जस्तो चाहिँ नगर्नुस् न धेर हुन्छ क्या
!’ थपिमाग्नेले भन्यो ।
‘अब ए हजुर, घुस खाए घुस खाए भन्छन् जनता, ख्वाउने पनि उनै न हुन्, हैन त
! हामीलाई उपहार त र नजराना जनतैले त दिएका छन् हैन र !’ फेरि हाँसो ।
‘नेपाली जनता धन्य छन्, कामधेनु गाई नै भनौं न । तेही भएर ता हामी पनि
जनताको काम गर्दै आएका छौँ नि, हैन त हजुर !’ ’खुवाउने नै उनै हुन् । नत्र
यो तलब कहाँ चोखो राख्न पाइन्थ्यो त ।’ फेरि ठहाका ।
‘ए हजुर, नेपाली जनता गरिब छन् भन्नु मात्रै हो, हामी सबैको दोहोरो तेहोरो भुँडी भर्दिया छन् कसरी गरिब भन्ने’ ! फेरि हाँसो ।
‘लौ जय सरकार, जय देश, जय जनता, जय भुँडी । गजब भो, गजब भो ।’ बडो
हर्षित मुद्रामा एउटाले भन्छ । सबै दोहोर्याएर हाँस्छन् र पालै पालो
रिकापीका थरी थरी परिकार रक्सीको चुस्कीमा रित्याउँदै, नयाँ मगाउँदै गर्छन्
।
‘अनि ए हजुर, अब महँगी बढ्ला नि । तलब बढ्यो’, एउटाले भन्यो ।
‘ए हजुर घरैमा चामल, दाल र ग्याँस आएपछि हामीलाई केको फरक ! तेसमाथि
बेपारी ता हाम्रो भाग लिएर घरै आइहाल्छन् नि अनि केको टाउको दुःखाइ ! महँगी
नियन्त्रण गर्न सरकार लागिपरेको भन्दिएपछि एफएमले देशैभरि छिनभरिमै हावा
फुकिहाल्छन् नि ! टेलिभिजनमा ब्रेकिंग समाचारऽ अनलाइन र पत्रिकाका पेज
भरिइहाल्छन् नि ! तेसपछि ता हामी महँगी घटाउन लागिपरेको देखिइहाल्छ । तातो न
छारो! रमाइलो गर्न आएका रमाइलो गरौँ । कहाँ गम्भीर कुरा गरिराख्या हजुरले
पनि ! अफिसाँ गम्भीर बन्ने त छँदै छ नि । लौ अन्ताक्षरी खेलौं ।’ अर्काले
भित्री कुरा ओकल्यो ।
ल, सुरु गरौँ – ‘यहाँ यस्तै छ, यहाँ यस्तै छ, सबैभन्दा पनि ठूलो यहाँ
पैसै छ ।’ सबै जीउ र टाउको हल्लाइहल्लाइ गाउन थाल्छन् । ताली पनि बज्छ ।
एकदुइृ भुण्टे बेलाबेलामा एक फन्को लाएर कम्मर मर्काउँदै आएर बस्दै पनि
गर्दैछन् ।
तलब बढेको उपलक्ष्यको रमाइलो साँझ रातमा परिणत भयो । तर रमाइलो जमघट
उठ्ने नाम निशानै छैन । तलब बढेका माथ्लो तहका कर्मचारीको रमाइलो रात जो
पर्यो !
दृश्य २
वरिपरि कागज छरिएका छन् । ट्युवलाइटको उज्यालोमा केही जोर हातका
औंला कम्प्युटरको किबोर्ड पिटिरहेका छन् । रातको ११ बज्यो । दिउँसो खाएको
चनाको खाजाले छोडिसक्यो ।
‘ल, ल, पेज तयार गर्ने बेला भो, छिटै समाचार सक्ने है । समयसीमा रेखा
(डेडलाइन) पार हुन लाग्यो है,’ सम्पादक कराउँदै प्रवेश गर्छ । कम्प्युटरको
किबोर्डले तिस्बब्धतालाई तोडिरहेको हुन्छ ।
‘ए, ए, बजेट र बढेको तलबको समाचार कसले तयार पार्दैछ?’ सम्पादकको प्रश्न
। ‘मैले’, एउटा झिनो उत्तर । ‘त्यसमा बढेको तलबले महँगीका मारमा परेका
कर्मचारीलाई केही भए पनि राहत मिलेको छ भन्ने याङ्गल नछोड्नु है ।’
सम्पादकको निर्देशन ।
‘सर, हामीले न्यूनतम पारिश्रमिक १० हजार पनि पाएका छैनौँ । त्यसमाथि तलब
नपाएको तीन महिना भइसक्यो, हामी र हाम्रो परिवार कसरी बाँचेको छ, यसको
चाहिँ कुनै समाचारीय मूल्य छैन?’ भर्खरै विश्वविद्यालयबाट स्नातकोत्तर सकेर
आएको संवाददाताले सम्पादकलाई आफ्नो पीडा पोख्यो ।
‘ए भाइ, तिमी पत्रकारितामा एम.ए. गरेको मान्छे । ल तिमी नै भन,
पत्रकारले आफ्नो समाचार लेख्छ कि अरुको हँ? के पढेर आयौ ?’ सम्पादक कड्किए ।
अर्को अलिक पुरानो भइसकेको कपी सम्पादकले प्वाक्क उत्तर दियो, ‘सर, भोको
पेट भजन नही गोपाला भन्ने उखान त्यसै बन्या हो र !’
सम्पादकले सम्झाउने शैलीमा भने, ‘हेर भाइ हो, तिमीहरूको पीडा म बुझ्छु ।
तर मेरा हातमा के छ लौ भन त । म पनि श्रमजीवी । तिमीहरू पनि श्रमजीवी ।
जस्तो पीडा तिमीहरूको मेरो पनि तेस्तै हो । तर जनताका लागि पत्रिका त
निकाल्नै पर्यो नि । बन्द हुने लण्डनको न्यूज अफ दि वर्ल्ड पत्रिकाले त
धन्यवाद र बिदाइ भन्न अन्तिम अंक प्रकाशित गर्यो । हामी त त्यो अवस्थामा
अझै हैन नि!’
‘खै सर, मुलुकै खानेगरी आएको एउटा दैनिक भर्खरै बन्द भो । अरु केही
घिटिक–घिटिक गर्दैछन् । अनि पहिले पनि दैनिक समाज, द कमनर, समीक्षा,
साप्ताहिक मञ्च, मातृभूमि, समकालीन, लोकपत्र, श्रीसगरमाथा, एभरेष्ट
हेराल्ड, स्पेसटाइम्स, अबिरल, समय आदि कैयौँ इतिहास रचेका र के के न गर्छौं
भनेर आएका पत्रिका बन्द भएकै हुन् ! तिनमा काम गर्ने पत्रकार र कर्मचारीको
बिजोग भएकै हो ।’ अर्को पत्रकारले इतिहासदेखिको बल झिकेर गुनासो गर्यो ।
अर्को पत्रकारिता पढेको संवाददाता पनि मौका छोप्नबाट पछि हटेन– ‘अब
गुटेनबर्गले पन्ध्रौँ सताब्दिको मध्यतिर बनाएको लेटर प्रेसदेखि अहिले
अनलाइनसम्म आइपुग्दा पनि पत्रकार ठगिने चालामा ता कुनै परिवर्तन आएको छैन ।
एफएममा हेर्य, कहाली लाग्दो अवस्था छ । टेलिभिजनमा हेर्यो, मन बुझाउने
ठाउँ छैन । पत्रिकाको हालत पनि तेस्तै छ । मालिक मोटाउने, कर्मचारी र
पत्रकार दुब्लाउने । अनलाइन त झन भर्खर बामे सर्दैछन् । तिनको पनि मोटामोटी
हालत उही हो । लौ भन्नुस् सर, हामीले के उत्साहले बजेट र बढेको तलबको
समाचार बनाउने? के हाम्रो पनि १८ प्रतिशत तलब र एक हजार भत्ता बढ्छ? घर
केले चलाउने? भाडा केले तिर्ने? व्यवहार कसरी गर्ने? केले हामीले अध्ययन
गर्ने? अनुसन्धान के ले गर्ने? कसरी खोजी समाचार बनाउने? लौ सर नै भन्नुस् त
।
‘अब सरकारी कर्मचारी पियनको तलब १३ हजार माथि भो । हामी पत्रकारितामा
बी.ए, एम.ए. पढेर पत्रकारिता गर्ने पत्रकारको न्यूनतम तलब १० हजार तोकेर यो
सरकार मक्ख छ । अनि त्यति पनि दिन सक्दिँन भनेर मालिकहरू रोइकराइ गर्छन् ।
यसबारे कसका कलम कहाँ चल्छन् सर ? लौ भन्नुस् । हाम्रै सरहको योग्यताबाट
सरकारी सेवामा पस्ने अधिकृतको सुरु स्केल २० हजारमाथि छ अनि हामी पहिलो त
तेही १० हजारसम्म पनि पाउँदैनौँ, पाइने भनेको तलब पनि ५–६ महिनासम्म
पाउँदैनौँ । यसमा कुनै अंकमा सरले सम्पादकीय लेख्नुभएको छ? लौ भन्नुस् सर,
यो अन्याय विरुद्ध लेख्ने-बोल्ने ठाउँ कहाँ छ? सर हाम्रो पत्रिकामा यो कुरा
छाप्न सक्नुहुन्छ?’ फेरि अर्काको प्रश्न ।
पेज प्रेसमा पठाउन ढिला भइरहेको छ । सम्पादकलाई यो गरुँ कि ऊ गरुँ
भइरहेको छ । उनीसँग प्रश्नका उत्तर पनि छैनन् । उनैले तलब नपाएको ४ महिना
भइसकेको छ । कडा स्वरमा बोलौँ, प्रकाशकले निकालिहाल्छ । पत्रकारको गुनासो
नाजायज छैन । काम लगाउने बेला पत्रकारले कम तलब स्केल पाएको, नियुक्तिपत्र
नदिएको, बृत्ति विकास नभएको, दिने भनेको तलब पनि नदिएको आवाज उठाएर बस्न
दिँदैनन् । जागीर छोडौँ, बेरोजगार भइन्छ । कचमचकचमच उनको पत्रिकाको गाडी
यसरी नै चलिरहेको छ । तर कहिलेसम्म? उनैलाई थाहा छैन ।
‘ल ल, यो कुरा गर्दै गरौँला, अहिले पत्रिका प्रेसमा पठाउन ढिला हुन्छ,
छिटो छिटो सकौँ है भाइ हो । अँ, अनि सरकारले महँगी बढ्न नदिन अनुगमन गर्ने
कुरा नछुटोस् है ।’ सम्पादक निर्देशन र अनुनयको स्वरमा बाहिरिन्छन् ।
केही जोर औँलाले जोडजोडले कम्प्युटरमा हिर्काउँछन् । मानौँ सबै आवेग, पीडा र कुण्ठा किबोर्डमाथि नै खनिँदै छ ।
दृश्य ३
अध्यारो साँघुरो भुइँ कोठा । लोडसेडिंग छ ।सानो मैनबत्ती मधुरो बलेको छ
। थोत्रे भित्तामा कुनै चमक छैन । मट्टितेलले बल्ने स्टोभको आज कुनै
चालचुल छैन । चार जना वर्षेनीका जस्ता केटाकेटी भोकभोकै सुतेका छन् । ‘आमा
भोक लाग्यो । भोक लाग्यो । भोक…ला..ग्..’ भन्दाभन्दै उनीहरू निदाएका छन् ।
हिजोको बजेट भाषणले कर्मचारीको तलब बढाए लगत्तै बजारमा ह्वात्तै महँगी
बढेको छ । मट्टितेल नपाएको कत्ति दिन भइसक्यो । ग्याँस चुल्हो राख्ने
क्षमता पुग्दैन । राखे पनि ग्याँस नपाएर हैरान हुनुपर्ने समस्या उसै छँदैछ ।
बिजुलीबाट चल्ने हिटरको कामै छैन । भात पकाउने बेला बिहान बेलुका लोडसेडिङ
हुन्छ । ‘ल्वाँठले चलाएको देशमा सबै सेटिङ ल्वाँठले नै गर्छन् । त्यसैले
विजुलीमा पनि ल्वाँठले नै सेटिङ गर्ने भएकाले लोडसेडिङको नाम ल्वाँठसेटिङ
राख्ने कि !’भनेर एउटा साथीले गरेको ठट्टा यहाँ साँच्चै हुन पुगेको छ ।
आमा चाहिँ चुल्हाको छेवैमा छिन् । बाबु आइपुगेका छैनन् । निस्तब्ध रात छ
। फट्याङ्ग्रा र किराहरू किरकिर कराइरहेका छन् । केही पर स्याल कराएको र
कुकुर भुकेको आवाज सुनिन्छ । अनि साउनको दिन भदौरे जस्तो कोदे झरीको फिका
आवाज सुनिन्छ ।
आमा चाहिँले बिहानदेखि केही खाएकी छैनन् । पानी पिएर भोक खपिरहेकी छन् ।
केही छिन्अघिसम्म केटाकेटीले भोक लाग्यो भनेर ख्याउँख्याउँ पार्दा उनले
आफ्नो भोक नै बिर्सेकी थिइन् । पख है, बाबा आएपछि खानेकुरा ल्याउनुहुन्छ
भनेर फकाउँदा फकाउँद बल्ल रुँदै केटाकेटी दिदाएका हुन् । यसमा तिनको केही
दोष छैन किनकि पेटको अग्निज्वाला निभाउन पाउने प्रत्याभूति देशको संविधानले
नै गरेको छ । अहिले केटाकेटी निदाएपछि आमाको पेटको जाँतोले घान मागिरहेको छ
तर केको घान हाल्नु ? केही भए पो घरमा !
बाबु चाहिँ निजी फर्म र कम्पनीमा दिनरात ड्यूटी गर्छन् । दिउँसो
पियनको काम अनि राती चौकीदारी । यसरी दिनरात खट्दा उनको तलबले १० हजार
छुँदैन । आमा चाहिँलाई केटाकेटी हेर्दै ठिक्क छ । चारमध्ये तीन छोरी र
कान्छो सन्तान चाहिँ छोरो । छोरो चाहिने परम्परागत विश्वासबाट ग्रस्त यस
दम्पत्तिका छोरो होला भन्दाभन्दै सन्तान चार पुगेका ।
सरकारी विद्यालयमा पढाउन पनि यिनलाई हम्मेहम्मे छ । सरकारले निशुल्क
पढाउने भन्छ तर सरकारी विद्यालयले भर्ना र अन्य विभिन्न बहानामा मोटै रकम
असुलिहाल्ने प्रवृत्तिबाट अरु जस्तै यो दम्पत्ति पनि शिकार भएको छ । घरमा
बेलुका पकाउन दाल सकिएको छ । चामल छैन । आलु, तरकारी, खुर्सानी र खानेतेल
पनि छैन । मटितेलको कुरै नगरौँ । यी सबैको पुर्ताल बाबु चाहिँले गर्नु
पर्ने छ ।
यत्तिकैमा जेठी छोरी उठ्छे र पेट मिचिमिची रुन्छे, ‘आमा भोक लाग्यो ।’
अनि क्रमैसँग सबै जना उठ्छन् । सबैको एउटै करुण आवाज – भोक लाग्यो ।
सानु चाहिँ आमाको दूध खान खोज्छ तर दूध पनि त आमाले केही खाएपछि मात्रै आउँछ भन्ने उसलाई थाहा छैन । ऊ पनि रडाको मच्चाउन थाल्छ ।
यत्तिकैमा बाबुको प्रवेश । थोत्रो सर्ट, पुरानो पाइन्ट र एकजोर पुराना
कपडाका जुत्ता । जुत्ता फुकाएपछि औँला र पैतालामा च्यातिएका एकजोर मोजा, जो
गरिबीका बलिया प्रमाण हुन् । हातको प्लाष्टिक झोलामा आधा किलो चिउरा ।
चिउराको पोको फुत्त फ्याँक्छ र खुइय गर्छ ।
‘खोई त चामल? खोई दाल? खोई तरकारी? खोई खानेतेल, खोई मट्टितेल?’ आमा चाहिँको प्रश्न ।
बाबु चाहिँ उत्तर दिन सक्दैन । न ऊसँग त्यति चिज ल्याउने पैसा नै छ न सबै चिज पाइन्छन् नै ।
‘तिम्रो चाहिँ तलब बढेन?’ फेरि प्रश्न । ‘खै के बढ्छ, मान्छे निकाल्ने भन्दैछ, जागीरै के हुने हो !’ उत्तर ।
‘आमा भोक लाग्यो,’ केटाकेटी फेरि जोडजोडले कराउन थाले । आमाले चिउराको
पोको खोलिदिई । भोकाएको सिंहले शिकार झम्टे झैँ सबैले त्यही फुको चिउरा
बुक्याउन थाले । साना चाहिँलाई पानीमा भिजाएर आमाले ख्वाइन् । अलिकति भए
पनि केटाकेटीको भोकको ज्वाला शान्त भयो। केटाकेटीले खाएर उब्रे खाने सुरमा
बसेका दम्पत्ति भने आजको राती पनि पानी पिएर सुते । यसमा उनीहरू अभ्यस्त
भैसकेका छन् ।
तर यो खबर पत्रिकासम्म पुग्न सक्दैन । पत्रिकाको प्रेसमा भने सरकारले
महँगी घटाउन जोडदार प्रयास गर्ने सम्बन्धी खबरको शीर्षक छापिइरहेको छ । उता
कुर्सीमाथि बसेका फर्सीहरूको रमाइलो भोज र अन्ताक्षरी रातभरि नै चलिहरहेको
छ ।
नेपालि समाज यस्तै छ अहिलेको हालत ल हेर्नुस यो लेख मा जस्तै छ .
नेपालि समाज यस्तै छ अहिलेको हालत ल हेर्नुस यो लेख मा जस्तै छ .
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्