Wednesday, February 18, 2009

छोराछोरी नभएको भन्दै सात वर्षदेखि यातना

परिवारको कुटपिटबाट घाइते भएपछि कञ्चनपुरकी बिस्ना सार्की अस्पताल भर्ना भएकी छिन् छोराछोरी नभएको निहुँमा एक महिलालाई सात वर्षदेखि परिवारले यातना दिँदै आएको खुलासा भएको छ । पछिल्लोपटक निर्घात कुटपिटबाट घाइते भएकी उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । छोराछोरी नपाएपछि कञ्चनपुरको भीमदत्त नगरपालिका-४ गोवरैयाकी २६ वर्षीया बिस्ना सार्कीले सात वर्षदेखि यातना पाइरहेकी हुन् । उनलाई परिवारका सबै सदस्य मिलेर कुटपिट गर्ने गरिएको छ । सासू-ससुरा, दुईजना जेठाजु र जेठानीले 'अपुताली' भन्दै यातना दिने गरेको बिस्नाले बताइन् । 'अलच्छिन्नी, अपुताली (छोराछोरी नहुने) भनेर सबैले कुट्छन्,' बिस्नाले महाकाली अञ्चल अस्पतालको शय्यामा रुँदै भनिन् 'कुटाइ नखाएको दिनै छैन ।' उनका जेठानी र जेठाजुले आफ्ना छोराछोरीको कुरा गर्दै गाली गर्ने र कुटपिट गर्ने गरेका छन् । उनका जेठानी सीता र ठगुका क्रमशः ६ र तीन छोराछोरी छन् । त्यस्तै उनकी देवरानीका पनि दुई छोराछोरी छन् । ६ वर्षदेखि उनका श्रीमान् (राम) बेपत्ता छन् । श्रीमान् बेपत्ता भएपछि झन् उनले यातना पाउने क्रम बढेको छ । 'सबै मिलेर मलाई कुटे, त्यही रातदेखि श्रीमान् बेपत्ता भए,' आफूलाई माया गर्ने भएकाले सबै मिलेर श्रीमान्लाई बेपत्ता पारेको बिस्नाले आरोप लगाइन् । 'ऊ (राम) बेपत्ता भएपछि पोइटोकुवा भन्दै कुट्छन्,' उनी सकी-नसकी बोलिन् । सात वर्षदेखिको यातना दिनेक्रम पछिल्लोपल्ट आइतबार पनि दोहोरिएको थियो । 'म बसिरहेकी थिएँ, एक-एक गर्दै आए,' बिस्नाले भनिन् 'अलच्छिनी बसेको घर नै बिग्रन्छ, निक्ली भन्दै कुटे ।'उनलाई ससुरा मंगले, जेठाजु फागु र देवु, जेठानी सीता र ठगुले निर्घात कुटपिट गरेपछि उनी अस्पताल भर्ना भएकी छिन् । 'सबै मिलेर कुटे, मर्‍यो भनेर छोडेका रै'छन् । होस आएपछि भागँ,' उनले रुँदै भनिन् । बिस्नालाई सोमबार बिहान महाकाली अञ्चल अस्पताल भर्ना गरिएको छ । महिला तथा वृद्ध सेवाकेन्द्रले उनलाई अस्पताल भर्ना गरेको हो । उनको टाउको, छाती र हातखुट्टामा गहिरो चोट लागेको छ । राम्ररी बोल्न सक्दिनन् । उनको अवस्था खतरामुक्त भए पनि गम्भीर चोट रहेको महाकाली अञ्चल अस्पतालले जनाएको छ । २६ वषर्ीया बिस्नाको नौ वर्षअघि गोवरैयाका राम सार्कीसँग विवाह भएको थियो । दुई वर्षसम्म राम्ररी नै बसे पनि तेस्रो वर्षदेखि उनका सासू-ससुरा, जेठाजु-जेठानीले गाली गर्न र कुटपिट गर्न थालेको बिस्नाले बताइन् । उनका देवर टेक सार्कीको विवाह भएपछि उनलाई यातना दिने क्रम झन् बढ्यो । 'देवरको माइती धनी रै'छन्, उनलाई धेरै धनसम्पत्ति दिए, मेरा माइती गरिब छन् धनसम्पत्ति दिन सकेनन्,' उनले गुनासो गर्दै भनिन्, 'अनि दाइजोको कुरा निकाल्दै झगडा गर्न थाले ।' बिहे गरेको दुई वर्षसम्म छोराछोरी नभएपछि परिवारजनले यातना दिन थालेको उनले बताइन् । परिवारले यातना दिँदै आएपछि उनले चार वर्षअघि कञ्चनपुर जिल्ला अदालतमा अंशबन्डाका लागि मुद्दा दिएकी थिइन् । अदालतमा मुद्दा दिएपछि उनको शरीरमा आगो लगाइदिएका थिए । अनुहारमा आगोले पोलेका दाग देखाउँदै उनले भनिन् 'जिउँदै जलाएका थिए । बल्लतल्ल बाँचेँ ।'कञ्चनपुर अदालतको फैसलाबाट उनले अंश पाइन् । अदालतकाे फैसलापछि उनले दुई कट्ठा जमिन र घरको एक कोठा पाएकी छिन् । बस्ने कोठको बत्तीसमेत परिवारजनले काटिदिएको बिस्नाले बताइन् । 'धारामा पानीसमेत भर्न दिँदैनन्,' रुँदै भनिन्, 'हाम्रो धारामा पानी किन खाएको भन्दै कुट्छन् ।'दुई महिनादेखि माइतीमा बस्दै आएकी बिस्ना ६ दिनअघि घर फर्केकी थिइन् । घर फर्केको चार दिन नबित्दै आइतबार उनलाई सबै मिलेर कुटपिट गरेका हुन् । उनले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए पनि केही गरिएको छैन । 'मिलाउने प्रयास गरिरहेका छौं,' कञ्चनपुर प्रहरी नायब उपरीक्षक हरिराज वाग्लेले भने । कारबाहीभन्दा पनि मिलाउने पक्षमा रहेको उनले प्रतिक्रिया दिए ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्