Monday, May 25, 2009

यस्तो छं नेपाली आर्मिको चरित्र


ञ्चकन्याकी आमा सुमित्रा कुमाल । उनको गलामा पोते छैन, सिउँदोमा सिन्दुर छैन र छैनन् हातमा काँचका चुरा । ४५ वर्षीया सुमित्राका श्रीमान्लाई कालले टपक्क टिपेर लगेको होइन । उनका पाँच सन्तानका चारजना बाबु छन् । अब उनीसँग केवल स्मृति छन् र छन् साथमा पाँचवटी छोरी । यस्तो लाग्छ— उनको अनुहार हाँस्नका लागि त बनेकै होइन । उनी ती अप्रिय दिनहरू नसम्झिरहन सक्दिनन् । विगत दुख्छ, र विक्षिप्त हुन्छिन् उनी ।
चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि खटिएका नेपाली सेनाका जवानहरूले १८ वर्षको लाऊँलाऊँ र खाऊँखाऊँ जवानीमा सुमित्राको कुमारीत्व लुटे । यो भयानक घटनापछि उनलाई आर्मी भन्नेबित्तिकै घृणा लागेर आउँछ । पटकपटक गरी उनको जीवनमा धेरै आँधीबेहरी आए ।उनी विगत सम्झिँदै भन्छिन्, 'एक दिन म ६/७ जना साथीसँग घाँस काट्न गएकी थिएँ । घाँस खोज्दै हामी निकुञ्जभित्र पस्याँ । सेनाले हामीलाई देखे र हामीनजिकै आएर केहीबेर कुराकानी गरे । पछि जंगलभित्र घुम्न जाऊँ भने । हामीले मानेनौँ । त्यसपछि हामीलाई त्यहाँ घाँस काट्न दिएनन् ।'
उनको रामकहानी यसरी बढ्छ— 'त्यही दिन साँझमा तीनजना सिपाही मेरो घरमा आए र आमालाई 'साहिँली र अरू दुईजनालाई चामल र दाल केलाउन पठाइदिनू' भनेछन् । भोलिपल्ट बेलुका चार बजेतिर म र अरू दुईजना काम गर्न गयाँ । काम गर्दागर्दै साँझको ७ बज्यो । घर जान लाग्दा उनीहरूले 'हामी पुर्‍याइदिउँला, यो काम सिध्याओ' भने । पैसा पाउने भएपछि र साँझमा पुर्‍याइदिने भएपछि हामी काम गर्न राजी भयौँ ।'
चितवन राष्ट्रिय निकुञ्जआसपासका स्थानीय बासिन्दालाई आफ्ना छोरीबुहारी कसरी सुरक्षित राख्ने भन्ने चिन्ताले सधैँ खाइरहेको हुन्छ । हुर्के-बढेका छोरीबुहारी जंगल पठाऊँ त सेनाको सिकार होलान् भन्ने डर, नपठाऊँ त छाकै टर्दैन । उनी भन्दै जान्छिन्, 'रातको ९ बजेतिर हामीलाई पुर्‍याउन आए । बाटोमा त्यस्तो नराम्रो केही बोलेका थिएनन् । घरमा आएपछि 'साहिँली, तिम्रो घरमा त भाले रहेछ । भाले खान पर्‍यो भने ।' पैसा दिन्छौँ भन्दै मलाई मासु/भात पकाउन लगाए । एकजनाले रक्सी पनि ल्याएको रहेछ । रक्सी र मासु खाएपछि मातेर यौटा अपराधीले मेरो सर्वस्व लुट्यो ।'
अब सुरु हुन्छ उनको पीडा-वर्णन, 'मैले गाउँका अरू दिदीहरू पनि बलात्कृत भएको थाहा पाएकी थिएँ । उनीहरूको बिचल्ली पनि देखेकी थिएँ । महिना दिन कटिसक्दा पनि महिनावारी नभएपछि अब मलाई डर लाग्न थाल्यो । मैले मेरो इज्जत लुट्नेलाई धुइँपताल खोज्न थालेँ । र, भेटेँ पनि । मैले मरिहत्ते गरेपछि उसले विवाह गर्छु भन्यो । मेरो पेटमा उसको चिनो बढ्दै थियो । गाउँलेको डरले उसले मलाई एउटा कोठामा राख्यो । छोरी जन्मिई । सुत्केरी बस्न माइत गएँ । एक महिना माइत बसेर फर्किंदा त ऊ सरुवा भएर गइसकेछ । उसको घर कहाँ हो मलाई केही थाहा थिएन । उसले मलाई घरको न घाटको बनाएर छोड्यो । रात कहिल्यै महिलाको हुँदैन भनेको साँचो रहेछ । मेरा जीवनमा जति दुर्घटना भए ती रातमै भएका छन् ।'
सुमित्रा आफ्नो मनको वह पोख्न बसेकी छिन् । एउटाले धोका दिए पनि जीवन जसोतसो चल्दै थियो । एकदिन आँसीको कालो रातमा अर्को सैनिक प्रकाश बनेर आइपुग्यो । गरिबीले बल्न नसकेको चुलोमा उसको आगमन मट्टितेलझँ हुन गयो । घरको न घाटको भएर बिचल्लीमा परेकी उनलाई उसले हर कदममा साथ दिन थाल्यो । उनले पनि उसको विश्वास गरिन् । उनी भन्छिन्, 'घर लैजानु न भन्दा घरमा मेरो राम्रो छैन, यहीँ घडेरी किनेर सानो घर बनाऔँला, यहीँ सुखसँग बसाँला भन्थ्यो । तलब लिनेबित्तिकै दिन्थ्यो । यसैबीच म गभर्वती भएँ । फेरि पनि छोरी जन्मिई । अर्कोपट्टिकी ठूली
छोरीलाई वेला-वेलामा माइतीमा राखिदेऊ भन्न थाल्यो । मैले राख्न मानिनँ । उसलाई विनाबाउकी छोरी भन्लान् भन्ने डर थियो मलाई ।'उनी भन्दै जान्छिन्, 'बाउ मरे आधा टुहुरो, आमा मरे पूरै टुहुरो भन्छन् । मैले कहिल्यै पनि ठूली छोरीलाई बाउको मायाको कमी हुन दिइनँ ।' कहिलेकाहीँ झगडा परे पनि बस्न लागेको घर किन बिर्गानु भनेर सहेरै बस्न थालिन् उनी । भन्छन् नि- लोग्ने-स्वास्नीको झगडा परालको आगो । समय बित्तै जाँदा उनी फेरि गर्भवती भइन् ।
उनको कथावाचन यसरी अगाडि बढ्दै जान्छ, 'उसले थाहा पाएपछि ऊ कोठामा कहिलेकाहीँ मात्र आउन थाल्यो । एक दिन किन कोठामा आउनुहुन्न भनेर सोधेँ । उसले भ्याउँदिनँ भन्यो । 'तिमीलाई दिन काट्न गाह्रो भएको हो भने माइत जाऊ, म पुर्‍याइदिउँला भन्यो । म सोझी, हुन्छ भनेर माइत हिँडेँ । माइतमा पनि आमाबाहेक अरू कोही बोल्ने थिएनन् । मेरो पेटको बच्चा सात महिनाको भइसकेको थियो । गाउँका दिदीबहिनीहरू मलाई 'गन्हाउने आइमाई' भन्न थालेका थिए । म जे भए पनि मेरो लोग्ने त छ नि भनेर कोठामा फर्किएँ ।' 'तर...,' उनको बोली त्यहीँ अडियो । उनी अगाडि बढ्न चाहिनन् । तर, एकछिनपछि उनले भनिन्, 'ऊ पनि सरुवा भएर गइसकेछ ।'
कति चोट देखिने हुन्छन्, कति नदेखिने । कति निको हुने खालका हुन्छन् कति निको नहुने । सुमित्रा आफ्नो पीडामा अभ्यस्त हुँदै जान थालिन् । उनी बताउँदै जान्छिन्, 'ऐलानी जग्गामा सानो छाप्रो हालेर बसेकी थिएँ । आफ्नो जग्गाजमिन नभएकाले नचाहँदा नचाहँदै पनि निकुञ्जमै भर पर्नुपर्थ्यो । बिहानको तरकारी निउरो खोज्न, घुँघी टिप्न, दाउरा खोज्न लुकीलुकी निकुञ्जमा गइन्थ्यो । एकदिन पाँचजना सैनिकले मलाई बलात्कार गरे । म रगताम्मे भएकी थिएँ । तिनीहरूबाट जन्मेकी छोरी अहिले १२ वर्षकी भई । यही हो,' उनी छोरीलाई देखाउँदै भन्छिन् ।
०५७ सालमा राति गस्तीमा आएका सेनाले उनलाई घरमै सुतिरहेका वेला बलात्कार गरे । तिनीहरूबाट जन्मेकी छोरी पनि आठ वर्षकी भइसकेकी छिन् । सुमित्रालाई त्यतिखेर असह्य पीडा हुन्छ, जब उनीहरू हाम्रो बा खोइ भन्छन् । 'मैले कसलाई यिनीहरूको बाउ देखाउने ।'
**सात महिनाअगाडि यसरी कुरा गर्ने सुमित्राको अहिले भने मानसिक अवस्था पूरै बिगि्रसकेको छ । उनले आफ्नो वास्तविकता छोरीहरूलाई थाहा दिएकी रहिनछन् । छोरीहरूले 'हाम्रो बाबु खोइ' भन्दा 'भारतमा पैसा कमाउन गएका छन्' भन्दै आएकी रहिछन् । सत्य लुक्दैन, झुटो टिक्दैन भनेझैं छोरी साहिँलीले स्कुलमा सत्य कुरा थाहा पाइछिन् । त्यसपछि साहिँली छोरी विक्षिप्त भइछिन् । सुमित्रा बिरामी छोरीको हेरचाह गर्दै थिइन् । बहिनी बिरामी भएको खबर पाएपछि २१ वर्षकी जेठी दिदी र १९ वर्षकी माइली दिदी काठमाडौँ र पोखराबाट घर आएछन् । सत्य कुरा सबैलाई थाहा भयो । र, अन्त्यमा तीनवटै दिदी-बहिनीले मानसिक अवस्था गुमाएको थाहा पाइयो ।
सुमित्राको परिवार लथालिंग छ । ऐलानी जग्गामा सानो छाप्रो भए पनि त्यसभित्र आगो नबलेको महिनाँ भइसकेको प्रस्ट देखिन्थ्यो । सुमित्राकी आमा भन्छिन्, 'मेरो पेवा पनि यही साहिँली नातिनीको उपचारमा सकियो । अब के खाने, के गर्ने, चार-चारवटी पागल घरमा छन् । आमाको बोली वेलावेलामा आफैँ रोकिन्छ । अब म पनि पागल हुन्छु कि के हो ? जाऊँ कहाँ जाऊँ, खाऊँ के खाऊँ । तीनवटी कमाउने नातिनीहरू पागल भए । दुईटी सानै छन्, मैले यिनीहरूलाई के ख्वाएर हुर्काउने ?'
**शान्ता अधिकारी

1 comment:

  1. यो ब्लग पोष्ट पढेपछि मलाई त पुरुष भएकोमा दिक्क लागेको छ । यि नेपाली सेना र प्रहरीहरुले गर्दा हामी पुरुषले समेत यस्तो आछेप सहनु परेको छ ।
    नेपाली सेनाका जबानहरुले यस्तो कुक्रित्य गरि बिचल्ली बनाएका मध्येकि एक मात्र पात्र हुन सुमित्रा । तर यस्तो हुन्छ भन्ने जानकारि हुदाहुदै पनि किन नेपाली सेनाको प्रधान कार्यालय तथा नेपाल सरकार चुपचाप बस्छ अनि नेपाली महिलाहरुको उत्थान गर्छौ भनेर काठमाडौको बिच गल्लीमा गफ छाट्ने महिला अधिकारकर्मी, महिला सम्बन्धि काम गर्ने NGOहरु र महिलाको राजनीति गर्ने महिला नेत्रिहरुको ध्यान कहिले जाला यता?

    राजेन्द्र विश्वकर्मा
    www.DalitMediaHome.com

    ReplyDelete

आफ्नो प्रतिक्रिया दिनुहोस्