Saturday, July 4, 2009

साहुको ऋण तिर्न परिवारलाई चिन्ता

पर्वत
बन्धकी राखेको घरखेत निखनौला अनि दुई चार रुपैया जोगाएर छोराछोरीको भविष्यका लागि पनि जोहो गराउँला भन्ने आशमा डेढ वर्षअघि रोजगारीका लागि कतार गएका पर्वतका एक युवा गएको ऋण तिर्न नपाउँदै ज्यान गुमाएपछि परिवारको विचल्ली परेको छ। गाउँमा भएको खेतबारी साहु कहाँ बन्धकी राखेर कतारमा रोजगारी गर्न गएका पर्वत जिल्लाको कुर्घा गाविस वडा नं ३ चाउका गाउँका ऋषिप्रसाद शर्माले विदेश जाँदाको खर्च नकमाउँदै ज्यान गुमाउनुपर्‍यो। ऋषिले ऋण तिर्न नपाउँदै दुबईबाट कतारतर्फ जाँदै गरेको पानीजहाज दुर्घटनामा परि ज्यान गुमाउन पुगेका हुन्। डेढ वर्ष अगाडि गाउँबाट एक लाख रुपैंया ऋण काढेर कतार गएका ऋषिले हालसम्म एक लाख रुपैया मात्र घरमा पठाएका छन। उनका काका पर्ने मीनप्रसाद शर्माका अनुसार कतारबाट पठाएको एक लाख रुपैंयामध्ये पचास हजार रुपैया परिवारले घर खर्च र पचास हजार रुपैंया गाउँको ऋण तिरेर सकेका छन। शर्माले कतार जाँदा लगेको एक लाखमध्ये पचास हजार तिर्न अझै बाँकी छ। मृतक ऋषिको सात मुरी मकै फल्ने बारी र चार मुरी धान फल्ने खेत मात्र रहेको छिमेकी काशिनाथ चापागाईले जानकारी दिए। उनकी श्रीमति गीता शर्मालाई भने घट्नाका बारेमा अहिलेसम्म जानकारी दिइएको छैन। उनका दुई वर्षका एक छोरा, सात र १० वर्षकी दुई छोरी छन।'ऋण तिर्न पनि सकेन, अन्य आयस्रोत छैन । छोराछोरीको त विचल्ली हुनेनैभयो'– ऋषिका काका मीनप्रसादले दैनिकीसँग भने।चार दाजु भाई मध्येका कान्छा छोरा रहेका ऋषि पानी जहाजमा सुरक्षा गार्डको रुपमा काम गर्ने गरेको उनले जानकारी दिए।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्