Wednesday, January 27, 2010

सुजाताका पीए ठगेर वेपत्ता

१४ माघ, काठमाडौं, परराष्ट्रमन्त्री सुजाता कोइरालाका स्वकीय सचिव भरत सापकोटाले विभिन्न प्रलोभन देखाई ५० जनाभन्दा बढीलाई ठगी गरेका छन् । सापकोटाले परराष्ट्रमन्त्रीलाई भनेर अमेरिकालगायत मुलुकमा पठाइदिने, राम्रो ठाउँमा सरुवा गरिदिने, जागिर लगाइदिनेलगायत प्रलोभन देखाई ठगेका हुन् ।
आफूहरुलाई दिएको आश्वासन पूरा नगरी सापकोटा एकाएक बेपत्ता भएपछि उनीहरुले आफूहरु ठगिएको थाहा पाएका थिए । पीडितहरुले परराष्ट्रमन्त्रीको मण्डिखाटारस्थित निवासमा बुधबार धर्ना दिएर सोपकोटाले लिएको पैसा फिर्ता गरिदिन माग गरेका थिए । उनीहरुले सापकोटाले १ करोड रुपैयाँभन्दा बढी उठाएको भन्दै परराष्ट्रमन्त्रीसँग फिर्ता गराइदिन भनेका छन् ।
पाँचजना अफगानीलाई नेपाली पासपोर्ट दिएको अभियोगमा परराष्ट्रका नायव सुब्बा बच्चुराम केसी गत बिहीबार पक्राउ परेको दिनदेखि सापकोटा बेपत्ता छन् । सापकोटा परराष्ट्रमन्त्रीको आडमा मेसिन रिडेवल पासपोर्टको ठेक्कासमेत निश्चित प्रस्तावकलाई दिलाइदिन्छु भन्दै हिँडेकोसमेत परराष्ट्र स्रोतले बतायो । तर, उक्त ठेक्का रद्द भइसकेको छ । ‘सापकोटा कता छन्, गत बिहीबारदेखि कुनै सम्पर्क छैन । उनको फोन अफ छ । कोठा बन्द छ,’ कोइराला निकट स्रोतले भन्यो ।
साभार: कान्तिपुर दैनिकबाट

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्