Monday, June 27, 2011

चिनियाँ राजदूतले भने तिब्बती मामलामा संवेदनशील भइदिनुस्

 अषाढ, १३ काठमाडौ,  नवनियुक्त चिनियाँ राजदुत यङ होउलानले सोमबार बिहान उपप्रधान तथा गृहमन्त्री कृष्णबहादुर महरालाइ  भेटी तिब्बती सन्दर्भमा चासो ब्यक्त गरेका छन् । उनले चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो स्थापना दिवस मनाउँदै गर्दा नेपालमा हुन सक्ने फ्रि तिब्बतसम्बन्धि गतिविधि सम्बन्धमा चासो राखेका हुन् ।
'फ्रि तिव्वत सम्बन्धि कुनै पनि आन्दोलन हुन नदिन पनि आग्रह गर्नुभयो' मन्त्री महराका प्रेस संयोजक मनोज मगरले जारी गरेको प्रेस नोटमा भनिएको छ, 'चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो स्थापना दिवस मनाउँदै गर्दा नेपालमा फ्रि तिब्बतसम्बन्धि गतिविधि हुनसक्ने भन्दै त्यसलाई नियन्त्रण गरिदिन आग्रह गर्नुभयो ।' गृह मन्त्रालयमा भएको भेट बिहान साढे ११ बजे सुरु भएर भेट आधा घण्टा चलेको थियो ।
भेटमा राजदुत होउलानले नेपाल र चीनको सम्बन्ध समुधर रहेको र त्यसलाई आफ्नो कार्यकालमा थप सुमधुर बनाउन प्रयास गर्ने बताएका थिए । उनले नेपालले लिएको एक चीन नीतिको प्रशंसा गर्नुका साथै उपयुक्त समय मिलाएर चीनको भ्रमण गर्न चिनियाँ सरकारको तर्फबाट उपप्रधान तथा गृहमन्त्री महरालाई निमन्त्रणा दिए ।
जवाफमा गृहमन्त्री महराले नेपाल र चीनको सम्बन्ध तत्कालको नभई ऐतिहासिक खालको भएको धारणा राखेका थिए । नेपाल र चीनबीचमा जनता–जनता, सरकार–सरकार र पार्टी–पार्टी बीचमा सम्बन्ध रहेको उल्लेख गर्दै नेपाल सरकार र चीन सरकार, नेपाली जनता र चिनियाँ जनताबीचको सम्बन्ध अझ माथि उठाउनुपर्नेमा मन्त्री महराको जोड थियो । 'नेपाली भूमी कुनै पनि छिमेकी मुलुकका विरुद्धमा प्रयोग हुन दिने नेपालको नीति छैन, फ्रितिब्बतसम्बन्धि आन्दोलनप्रति हामी सचेत छौं' महराको भनाई उल्लेख गर्दै प्रेस नोटमा भनिएको छ, 'नेपालमा चीन विरोधी कुनै पनि गतिविधि हुन दिनेवाला छैनौं ।' मन्त्री महराले चीन भ्रमणसम्बन्धि निमन्त्रणालाई स्वीकार गर्दै अनुकुल समयमा चीनको भ्रमण गर्ने जानकारी दिएका थिए ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्