Sunday, August 28, 2011

बाबुराम भट्टराइ ३५ औ प्रधान मन्त्रीमा निर्वाचित

 भाद्र १२, काठमाडौ, डा. बाबुराम भट्टराई ३ सय ४० सभासदको समर्थन प्राप्त गरी आइतबार ३५  औ प्रधानमन्त्री निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले २ सय ३५ मत पाएका थिए । निर्वाचित भएलगत्तै भट्टराईले शान्ति, संविधान र जनतालाई राहत आफ्नो प्राथमिकता हुने बताएका छन् । उनले भने, 'मन्त्रिपरिषद्लाई राष्ट्रिय सहमतिको स्वरूप प्रदान गर्न सोमबारबाटै काम थाल्नेछु ।
निर्वाचन हुनुअघि संसद्मा उनका प्रस्तावक माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीले जनताले धेरै रुचाएका 'ए-वान' उम्मेदवार उठाएको बताए । राजनीतिक मिसन पूरा गर्ने व्यक्ति प्रमुख नहुने उल्लेख गर्दै दाहालले आफूहरूको सामूहिक प्रयासमा शान्ति प्रक्रिया र संविधान निर्माणको काम पूरा हुने पनि बताए ।
गोरखा खोप्लाङ-४ बेलबासमा ५७ वर्षअघि जन्मिएका भट्टराईले आधुनिक नेपालका पैंतीसौं प्रधानमन्त्री हुने सौभाग्य पाएका हुन् । उनकै जिल्ला गोर्खाबाट नेपालको पहिलो प्रधानमन्त्री भीमसेन थापा बनेका थिए ।
लोकतान्त्रिक गणतन्त्र नेपालको चौथो प्रधानमन्त्रीका रूपमा सिंहदरबार छिर्न लागेका भट्टराई नेपालको पाँचौं निर्वाचित कम्युनिस्ट प्रधानमन्त्री हुन् । संविधानसभा निर्वाचनपछि प्रधानमन्त्री भएका माओवादी अध्यक्ष पुष्पकमल दाहालले नौ महिना, एमाले वरिष्ठ नेता माधवकुमार नेपालले १ वर्ष ८ महिना र एमाले अध्यक्ष झलनाथ खनालले ७ महिना गठबन्धन सरकार सञ्चालन गरेका थिए ।
एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकार पनि नौ महिना चलेको थियो ।
संविधानसभा निर्वाचनपछि बनेको दाहाल नेतृत्वको माओवादी-एमाले गठबन्धन सरकारमा अर्थमन्त्रीको जिम्मेवारी पाएका भट्टराईले आफ्नो कामबाट प्रशंसा पाएका थिए । प्रधानमन्त्रीका रूपमा पनि उनीबाट त्यस्तै अपेक्षा राख्नेहरू धेरै छन् । तर लोकतान्त्रिक मधेसी मोर्चा र साना दलहरूको समर्थनमा प्रधानमन्त्री निर्वाचित भट्टराईको सत्ता गठबन्धनको आधार भने कमजोर छ । 
भट्टराईलाई मोर्चामा आबद्ध फोरम (लोकतान्त्रिक), फोरम (गणतान्त्रिक), तमलोपा, तमलोपा नेपाल र सद्भावनाका अतिरिक्त संघीय सद्भावना, उपेन्द्र यादवले नेतृत्व गरेको फोरम र साना दलहरूले साथ दिएका छन् । संसद्मा मोर्चाका ६५ सभासद छन् ।
माओवादी र मोर्चाबीच आइतबार बिहान भएको चारबुँदे सहमतिले भट्टराईको जित सुनिश्चित गरेको थियो । सहमतिमा शान्ति प्रक्रिया र संविधान निर्माणको काम टुंगोमा पुर्‍याउने र मधेसका माग सम्बोधन गर्ने उल्लेख छ ।
उता पौडेललाई संविधानसभाको तेस्रो ठूला एमाले, नेकपा (माले), राप्रपा, राजपाले मात्र साथ दिए । नेमकिपाका पाँच र राप्रपा नेपालका चार सभासदले निर्वाचन बहिष्कार गरेका थिए । पौडेलको प्रधानमन्त्री पदका लागि सदनमा भएको १८ आंै हार हो । यसअघि ३४ औं प्रधानमन्त्रीका लागि सदनमा भएका १७ पटकको मतदानमा पौडेल विजयी हुन सकेका
थिएनन् । पराजयपछि उनले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । 'तर शान्ति प्रक्रिया र संविधान निर्माणमा प्रतिपक्ष हुँदैनौं,' उनले भने ।
   भट्टराई माओवादीभित्र शान्ति र संविधान निर्माणलाई मुख्य मुद्दा बनाएका नेता हुन् । संसद्मा उनको पक्षमा मतदान गर्ने सबै दलका सभासदहरूले उनको त्यही व्यक्तित्व र ठूलो दलको नेतृत्वमा सरकार बन्दा शान्ति प्रक्रिया अघि बढ्ने विश्वासमा उनलाई मतदान गर्ने बताएका थिए । सहमतीय सरकारको आवश्यकता औंल्याउँदै आएका भट्टराईले बहुमतीय प्रक्रियाबाट निर्वाचित भए पनि आफू नेतृत्वको सरकारलाई सहमतीय स्वरूप दिने प्रतिबद्धता जनाएका छन् । 'सहमतिको सरकार बनाउने काम भोलिबाटै सुरु हुन्छ,' निर्वाचित भएपछि उनले भने ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्