Wednesday, August 29, 2012

कसरी छुट्याउने सक्कली प्रसाधन 

एक महिनाअघि मेरो पसल नजिकैको एक बैंककी कर्मचारीले ओले ब्रान्डको फेसियल क्रिम मागिन् । नियमित ग्राहक भएका नाताले मैले उनलाई सक्कली क्रिम झिकेर दिएँ । मैले त्यसको कभरमै मूल्य लेखेको थिएँ । उक्त मूल्य देखेर उनी झस्किइन् । 'कति महँगो ? हिजोआज तपाईंले हामीलाई पनि ठग्न थाल्नुभयो ।' उनको मुड अचानक बिगि्रयो । मैले ठगेको होइन, सक्कली भएकाले मूल्य नै यति हो भनेर सम्झाउने प्रयास गरें तर उनी फुटपाथमा यही क्रिमलाई १ सय ६० रुपैंयाँ पर्ने यहाँ चाहिँ कसरी ३ सय पर्छ ?' भन्न्दै रिसाइन् । बिक्रेता भएकाले आफ्ना ग्राहकसँग विवाद गर्ने कुरा आएन । अर्को र्‍याकबाट नक्कली ओलेको क्रिम उनले भनेकै मूल्यमा दिएर पठाएँ । एक प्रकारले मलाई खुसी पनि लाग्यो । किनभने सक्कली क्रिम बेच्दा मलाई ७ प्रतिशत मात्र नाफा हुन्छ, नक्कलीमा शतप्रतिशत नाफा हुन्छ । उनलाई बिदा गरेपछि अचम्म के लाग्यो भने उनीजस्ती पढेलेखेकी व्यक्तिले एउटै ब्रान्डको मूल्य किन शतप्रतिशत फरक पर्‍यो भनेर एकपटक पनि सोधिनन् ।

तर कुरा त्यहीँ सकिएन । केही दिनअघि उनको अनुहारभरि बिमिरा आएछन् । उनी अचानक पसल आइपुगिन् । उनको मुड पहिलेको भन्दा बिग्रनु स्वाभाविक थियो । पसलमा अन्य ग्राहक पनि थिए । उनले लगेको क्रिम मेरो अघिल्तिर फ्याँकिन् र गाली गर्न थालिन् । सबै ग्राहक छक्क परे । उनलाई सम्झाउन निकै कठिन भयो । उनी नराम्रोसँग कराइन् ।

मलाई मात्र होइन, हिजोआज अधिकांश सौन्दर्य व्यवसायीले यस्ता घटना भोग्ने गरेका छन् । सौन्दर्यमा आएको बढ्दो चेतनाका कारण यस्ता प्रसाधनको माग पनि बढ्दो छ । यद्यपि जुन रूपमा चेतना बढेको छ, त्यस अनुपातमा महिलाहरूको आर्थिक स्तर वृद्धि हुन सकेको छैन । ब्रान्डेड सामग्रीको खोल देख्नेबित्तिकै त्यो सक्कली नै हो भन्नुपर्ने भएको छ । एउटै ब्रान्डको मूल्य एउटा पसलमा एउटा र अर्को पसलमा अर्को भयो भने त्यसको दोषी पसले हुने गरेका छन् । विदेशबाट आयातीत ब्रान्डेड सामग्रीले प्रशस्त पैसा विज्ञापनमा खर्च गरेका हुन्छन् । उनीहरूले कर तिरेका हुन्छन् । मार्केटिङका लागि मानिस खटाइएको हुन्छ । यति लामो फड्को मारेर मात्र त्यो सामग्री हाम्रो पसलसम्म आइपुग्छ । उता त्यही ब्रान्डका नक्कली क्रिमले अर्काले गरिदिएको विज्ञापनलाई क्यास गरिरहेका हुन्छन् । उनीहरू चीन र भारतबाट लुकाएर त्यस्ता सामग्री नेपाल भित्र्याउँछन् र ब्रान्डेड क्रिमको खोल हालेर बेच्छन् । बाहिरी खोलबाहेक यसमा भित्री क्रिमको गुण मिल्दैन । यो कुरा धेरैजसो पसलेलाई रामै्रसँग थाहा हुन्छ । नियमित र विश्वासिला ग्राहकलाई हामी ब्रान्डेड सामग्री नै बेच्छौं तर माथि उल्लेख गरिएजस्ता ग्राहकलाई नक्कली सामग्री बेच्नुपर्ने बाध्यता हुन्छ ।

किन यस्तो हुन्छ  ?

सुन्दा नै अचम्म लाग्ने यस्ता कुरा नेपालमा खुलेआम हुन्छ भन्ने कुरा मैले पनि भर्खरै थाहा पाएकी हुँ । आखिर किन यस्तो हुन्छ भन्ने कुरा खोजी गर्दै जाँदा रमाइला तथ्य हात परे, जुन सबैका लागि फाइदा हुन्छ भन्ने आशा गरेकी छु ।

नेपालमा आफैं उद्योग-धन्दा खोल्दा धेरै झन्झट छन् । कुनै क्रिम नेपालमा उत्पादन गर्नुभन्दा त्यही गुणस्तरको खुला क्रिम भारत वा चीनबाट मगाउँदा सस्तो पर्छ । त्यसलाई नयाँ ब्रान्डमा बेच्दा कसैले पनि किन्दैन । बरू त्यो क्रिमलाई विदेशी ब्रान्डकै खोलमा बेच्दा बिक्री पनि हुन्छ, ग्राहकले पनि सस्तोमा पाउँछन् । यही उद्देश्यले विदेशबाट मगाइएका खुला क्रिमलाई विभिन्न चलेका ब्रान्डमा प्याक गरिन्छ । यस्तो काम धेरैले गर्ने भएकाले एउटै ब्रान्डका धेरै थरीका क्रिम बजारमा उपलब्ध हुन्छन् ।

यस्ता क्रिम बनाउनेहरूको उद्देश्य नाफा गर्ने मात्र हुन्छ । कहिलेकाहीँ यसरी प्याकिङ गर्दा एउटा उद्देश्यको क्रिम अर्को उद्देश्य भएको खोलमा प्याक हुन पुग्छ । प्रसिद्ध ब्रान्डले कुनै त्रुटि भयो कि भनेर दोहोरो चेक गर्छन् । उद्देश्य नै नक्कली भएका व्यक्तिले उपभोक्ताको स्वास्थ्यको ख्याल गर्ने कुरा पनि आएन जब नक्कली सामग्री प्रयोग हुन्छ तबमात्र मैले माथि वर्णन गरेको घटना घट्न पुग्छ ।

नक्कली क्रिम बनाउने व्यक्तिहरूले आफ्नो बजार ग्रामीण क्षेत्र र फुटपाथका पसलेहरूलाई बनाउने गरेका छन् । अहिले काठमाडौंमा महँगो भाडा तिरेर बसेका पसलेहरूले धेरै मूल्य लिन्छन् भन्ने भ्रम पर्न थालेको छ किनभने त्यही सामग्री फुटपाथ पसले र महँगा स्टोरमा दुई गुणादेखि सयगुणासम्म महँगो पर्ने गरेको छ । काठमाडौंभरि भाडा नतिरी फुटपाथमा पसल थाप्न पाउने व्यवस्था भएकाले ब्रान्डेड सामग्री फुटपाथमा सस्तो पाइने भ्रम ग्राहकहरूलाई परेको छ । नक्कली सामग्री बनाउने व्यापारीहरूले ग्राहकको यो मनोविज्ञान राम्रोसँग बुझेका छन् । फलस्वरूप ती व्यापारीहरूलाई पनि त्यहीअनुसार प्रशिक्षित गरिएको हुन्छ । यसको असर हामीजस्ता मध्यम व्यापारीलाई पर्ने गरेको छ ।

त्यसो त सक्कली सामग्री बेच्ने कम्पनीका कर्मचारीहरू हामीसँग आएर आफ्नो नाममा नक्कली सामग्री उत्पादन भैरहेको र त्यस्ता सामग्री नबेच्न आग्रह नगर्ने होइनन् । उनीहरूले पत्रपत्रिकामा विज्ञापन दिएर समेत यस विषयमा उपभोक्ताहरू सचेत गराइरहेका हुन्छन् तर हाम्रा सबै ग्राहक फुटपाथतिर आकषिर्त भएपछि हामीले दुवैथरीका सामग्री राख्नु बाध्यता हुन्छ । बरू हामीले यो सक्कली भएकाले यसको मूल्य यति र यो नक्कली भएकाले यसको मूल्य कम हो भनेर ग्राहकलाई जानकारी दिने गरेका छौं । यस्तो चलन महँगा डिपार्टमेन्टल स्टोरमा पनि सुरु भैसकेको छ । यो व्यापारीहरूको बाध्यता नै हुन थालेको छ ।

नक्कली सामग्रीको बिगबिगी बढेको र नक्कलीलाई नै ग्राहकले सक्कली मान्न थालेपछि कतिपय ब्रान्डेड सामग्री आयात गर्ने व्यक्तिले पनि गलत काम गर्न थालेका छन् । उनीहरूले आफ्नै नाममा चीन र भारतबाट खुला क्रिम ल्याएर आफैले केही सस्तोमा यस्ता सामग्री बेच्न थालेका छन् । यो कुरा सुन्दा मलाई पनि पहिले अचम्म लागेको थियो । सत्य कुरा के हो भने विदेशी क्रिमलाई यहाँ निश्चित व्यापारीहरूले आयात गर्छन् । जसको भन्सार कर मात्र तिर्नु पर्दैन, विदेशी कम्पनीलाई रोयल्टी पनि तिर्नुपर्छ । आफैले त्यसरी आयात गर्दा भन्सार पनि छल्न पाइन्छ, नाफा पनि बाँड्नु पर्दैन । त्यसैले कतिपय कम्पनीले आफ्नो नाममा नक्कली सामग्री आयात हुँदा पनि धेरै चिन्ता गरेको पाइँदैन, जसको असर सीधै ग्राहकलाई पर्छ ।

त्यसो भए के गर्ने ?

सबैभन्दा पहिले फुटपाथमा सक्कली सामग्री पाइन्छ भन्ने भ्रम त्यागिदिनुहोस् । आजको महँगो जमानामा राम्रा, टिकाउ वा स्वास्थ्यवर्धक सामग्री जुन मूल्यमा फुटपाथमा पाइन्छन्, त्यो कसरी सम्भव छ भनेर एकपटक कल्पना गर्नुहोस् । त्यसो त फुटपाथमा पनि पर्याप्त वार्गेनिङ गर्नुपर्छ किनभने त्यसको वास्तविक मूल्य धेरै कम हुन्छ, भाडा तिरेका पसलमा धेरै वार्गेनिङ गर्ने ठाउँ नै हुँदैन ।

सौन्दर्य प्रसाधन आफूलाई विश्वास लागेको पसलमा मात्र किन्नुपर्छ । बिक्रेताले धेरै नाफा खान्छन्, उनीहरूको उद्देश्य ग्राहकलाई ठग्ने मात्र हुन्छ भन्ने भ्रमबाट मुक्त हुनु नै फाइदाजनक हुन्छ । हामी ग्राहकलाई सकेसम्म सधैंका लागि आफ्नो बनाउन चाहन्छौं । यसो गर्दा लामो समयसम्म पसल चलाउन सकिन्छ भन्ने हाम्रो विश्वास हुन्छ । महँगो भाडा तिर्नुपर्ने बाध्यताका कारण आफ्ना नियमित ग्राहक भएनन् भने व्यवसाय चलाउन कठिन हुन्छ । त्यसैले पनि बिक्रेताको यो कमजोरीलाई क्यास गर्न सक्नुपर्छ । पसलेसँग कुराकानी गरेर, हिमचिम बढाएर कुन सामग्री ठीक हो कुन होइन भनेर कुरा गर्ने हो भने नियमित ग्राहकलाई उनीहरूले सत्य बताउँछन् । ग्राहक पसलेका देवता हुन्ा् भन्ने कुरा उपभोक्ताले पनि बिर्सनु हुँदैन ।



सम्झनाकुमारी निरौला

सम्झना कस्मेटिक्स, नयाँबानेश्वर
नारी  बाट सभार 

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्