Tuesday, August 11, 2009

नक्कली पासपोर्ट, भिसा पत्ता लाग्ने भो

दीपेन्द्र थापा, २६ साउन, काठमाडौं । अध्यागमन विभागले नक्कली पासपोर्ट, भिसा र सम्बद्ध कागजात तुरुन्त पत्ता लगाउने मेसिन पहिलोपटक काठमाडौं ल्याएको छ । मेसिन सञ्चालनमा आएपछि नक्कली कागजात बनाएर विदेश जान चाहने र लानेहरु समातिनेछन् । मेसिनले अधिकांश नक्कली कागजात पत्ता लगाउने भएपछि त्यस्ता कागजात पेस गर्ने व्यक्ति र बनाउने दलाल लगायत कारबाहीमा पर्ने डरले निरुत्साहित हुने दाबी विभागले गरेको छ । ‘मेसिन ल्याइसकेका छौं,’विभागका महानिर्देशक माधवप्रसाद रेग्मीले भन्नुभयो,’यही साउन ३० गते जडान हुन्छ।’ यसका लागि बेलायतबाट सम्बद्ध कम्पनीका एक वरिष्ठ प्राविधिक जडानको अघिल्लो दिन यहाँ आउँदै छन् ।
अध्यागमन प्रशासनलाई चुस्त दुरुस्त र अन्तर्राष्ट्रिय स्तरको बनाउन मेसिन ल्याएको रेग्मीले बताउनुभयो । ‘डकुमेन्ट इक्जामिनेसन डिभाइस’ नामको उक्त मेसिनले एक प्रकारको किरणबाट पासपोर्ट, भिसा र अन्य कागजात नक्कली हो वा होइन भन्ने पत्ता लगाउने छ । ‘मेसिनमा प्रोग्रामिङ गरिएपछि नक्कली कागजात पत्ता लाग्छ,’ महानिर्देशक रेग्मीले भन्नुभयो, ‘मेसिन सन्चालनका लागि विभाग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सम्बद्ध मन्त्रालय, गृहका अधिकृत र कर्मचारी गरी छ जनालाई दुई साताको तालिममा पठाएका छौं।’

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्