Tuesday, September 8, 2009

नयाँ सहमति बिना सेना समायोजन सम्भव छैन : जनसेना प्रवक्ता

माओवादी सेनाले दलहरुबीच छुट्टै राजनितिक सहमति नभैइकन सेनासमायोजन हुन नसक्ने बताएको छ । जन सञ्चार अभियानले आज राजधानीमा गरेको कार्यक्रममा जनसेनाका प्रवक्ता एवं डेप्युटी कमाण्डर चन्द्र प्रकाश खनाल बलदेवले सेना संबन्धम दलहरु नयाँ सहमति नपुगे समायोजन प्रक्रिया अगाडि बढ्न नसक्ने बताउनुभएको हो । उहाँले हाल कायम रहेको कार्यव्यवस्था सेना समायोजनकालागि प्रयाप्त नभएको भन्दै छुट्टै सहमतिको आवस्यकता औल्याउनुभयो । शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन नया सहमति बनाएर दुई सेनालाई समायोजन गरेर राष्ट्रिय सेना बनाउनुपर्नेमा जोड दिनुभयो । बलदेवले नीतिगत रुपमा जनसेना समितिको मातहतमा भएपनि ब्यवहारिक रुपमा मातहतमा आइनसकेको बताउनुभयो । उहाँले समितिको मातहतमा ल्याउन चेन अफ कमाण्ड, भौतिक संरचना, हतियारलगायतका कुराहरु स्पष्ट पार्नुपर्ने बताउनुभयो । यसअघि आइतबार बसेको सेना समायोजन विशेष समितिको बैठकले जनसेना सेना समायोजन विशेष समितिको मातहतमा आएको दावी गरेको थियो । उहाँले माओवादी सेना ब्यवसायीकरण नभएको हो भने नेपाली सेना पनि लोकतान्त्रिक नभएको आरोप लगाउनुभयो ।
राजधानीमा चार दिन बसेर सोमबार सकिएको जनरल स्टाफ बैठकले माओवादी र नेपाली सेनालाई मान्य हुने गरी नयाँ सैनिक नियमावली बनाउन समेत आग्रह गरेको बलदेवले जानकारी दिनुभयो । 'संविधानमा लेखिएको बुँदामात्र पर्याप्त छैन,'उहाँले भन्नुभयो,'दुवै सेनालाई मान्य हुने सैनिक नियमावली बनाउन जरुरी छ ।' बलदेवले अयोग्य लडाकुहरुलाई शिविर बाहिर निकाल्न जनसेना तयार रहेको बताउनुभयो ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्