Sunday, January 24, 2010

नेपालीको नागरिकतामा भारतीय युवती

२०६६ माघ १० - वैदेशिक रोजगारीमा नेपाली राहदानी प्रयोग गरेर भारतीय युवतीसमेत खाडी मुलुक आउने गरेको तथ्य फेला परेको छ । लमजुङकी एक युवतीको राहदानीमा साउदी अरेबिया आएकी भारतीय युवतीको मृत्युपछि उनकै डायरीबाट यो तथ्य खुलेको हो ।लमजुङ, बागलुङपानी ४ की केशमाया विकको नाममा भारत सिलिगुडीकी ३६ वषर्ीया आइतीदेवी सुब्बा १३ महिनाअघि साउदी अरेबिया आएकी थिइन् । उनको मृत्यु भएर शव दाबी गर्न कोही नआएपछि घर मालिकले नातेदार पत्ता लगाइदिन रियादस्थित नेपाली दूतावासमा निवेदन दिएका थिए । दूतावासले मृतकको डायरीमा लेखिएको फोन नम्बरमा सम्पर्क गर्दा उनी अर्कैको राहदानीमा आएको थाहा भएको थियो । 'डायरीमा भएको नम्बरमा फोन गर्दा उनी लमजुङकी केशमाया नभएर सिलिगुडीकी आइतीदेवी भएको पत्ता लागेको हो,' रियादस्थित नेपाली दूतावासका प्रथम सचिव खड्गप्रसाद दाहालले भने, 'आइतीदेवीले आफ्नी बहिनीलाई पहिल्यै केशमायाको राहदानीमा आएकी बताएकाले परिवार पत्ता लगाउन सजिलो भयो ।'दूतावासका अनुसार मृतक आइतीदेवीले प्रयोग गरेको राहदानीको नम्बर ४००५६७८ मा वाहकको नाम केशमाया विक र नजिकको नातेदारको नाम शान्तबहादुर विक, ठेगाना बागलुङपानी ४ लमजुङ छ । प्रथम सचिव दाहालले अन्य केही भारतीय युवती पनि नेपाली राहदानी बोकेर साउदी अरेबियामा रोजगारीमा आउने गरेको बताए । भारतले घरेलु कामदारको रूपमा महिलालाई पठाउन प्रतिबन्ध लगाएकाले पनि उनीहरूले नेपाली राहदानी किनेर आउने गरेको दूतावासको भनाइ छ । आइतीदेवीले कसरी केशमायाको राहदानी पाएकी थिइन् भन्ने स्पष्ट जानकारी नभए पनि उनी मुम्बई हुँदै साउदी अरेबिया पुगेको पत्ता लागेको छ ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्