Wednesday, May 5, 2010

आन्दोलनकारी भकाभक बिरामी परे

अन्दोलानको दिन लम्बिदै जादा आन्दोलनरत माओवादी कार्यकर्तामध्ये दिनहुँ करिब नौ सय बिरामी परिरहेका छन् । उपत्यकाबाहिर विभिन्न ठाउँमा पनि बिरामी हुनेको संख्या बढ्दो छ । बिरामी पर्नेमा टाउको र पेट दुख्ने समस्या बढी छ । उपत्यकामा आन्दोलनकारीलाई राखिएका १८ वटा केन्द्रमध्ये प्रत्येकबाट दैनिक ५० जनाको हाराहारीमा बिरामी परिरहेका छन् । 'मेरो केन्द्रमा दैनिक ५० जनाको हाराहारीमा पेट र टाउको दुख्ने समस्याका बिरामी हुन थालेका छन्,' वाईसीएल नेवाः राज्य समिति सहइञ्चार्ज दीपशिखाले मंगलबार कान्तिपुरसँग भने, 'अन्य केन्द्रमा पनि यतिकै औसतमा बिरामी भइरहेका छन् ।'
दीपशिखाका अनुसार अस्पताल भर्ना गर्नैपर्ने आवश्यक नदेखिएकालाई केन्द्रमै उपचार गरिएको छ । उनले बाहिरबाट आएकाहरू वातावरण परिवर्तनसँगै दिनभरको सडक बसाइ, खानपान, घाम र पानीलगायतले गर्दा बिरामी पर्न थालेको बताए । उनले शिविरहरूमा महानगरपालिकाको सहयोगमा औषधि छर्कने काम भएको समेत बताए । 'मंगलबारदेखि खानेपानीमा कडा निगरानी राख्न थालेका छौं,' दीपशिखाले भने ।
उता वीर अस्पतालको आकस्मिक विभागमा गत शनिबार तीन र आइतबार ६ जना छारे रोगको लक्षणसहितका आन्दोलनकारी उपचारका लागि आएका थिए । 'मंगलबार पनि कमजोरी, झाडापखाला र ज्वरोबाट बिरामी भएका माओवादी कार्यकर्ता उपचारका लागि आएका छन्,' आकस्मिक विभागका रजिस्ट्रार डा. सुशील शाक्यले भने, 'कमजोरीले रिंगटा लागेर बेहोस हुनेहरू पनि प्रशस्त छन् ।'
सहिद शुक्रराज ट्रोपिकल सरुवा रोग अस्पताल, टेकुका इमर्जेन्सी इञ्चार्ज हुम थापाले हालसम्म अस्पताल भर्ना भएका आन्दोलनकारीमा पखाला, ज्वरोलगायत समस्या देखिएको बताए ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्