Monday, September 13, 2010

बुदिसागरको कर्नाली ब्लुज बजारमा

कवि बुद्धिसागरले उपन्यास विधामा पाइला चालेका छन्। उनको पहिलो उपन्यास 'कर्नाली ब्लुज' सोमबार सार्वजनिक गरियो। उपन्यास फाइनप्रिन्टले छापेको हो। यसअघि बुद्धिसागरको गद्य लेखन अखबारमा सीमित थियो। उनले यसअघि 'हज्जारौं पृथ्वी हज्जारौं आकाश' कवितासंग्रह पाठकमाझ ल्याएका थिए।
त्यही संग्रहमा भूमिका लेख्ने क्रममा साथीभाइले आफ्नो गद्यको मिठासलाई पहिल्याएको उनले सोमबार किताब सार्वजनिक समारोहमा बताए।
आफूले उपन्यास लेख्दा राति तीन बजेसम्म नसुतेको बताउँदै उनले आत्मविश्वास पोखे, 'अब म ढुक्कसँग बेलैमा सुत्नेछु र पाठकहरू चाहिँ राति तीन बजेसम्म सुत्ने छैनन्।' सानो उमेरमा वेदप्रकाश शर्माका जासुसी उपन्यासको नक्कल गर्न गरिएको असफल प्रयासको प्रसंग उनले सुनाए। 'केही प्रकाशकलाई फोन गरेको थिएँ र कैलालीको कटासे बजारमा एउटा प्रकाशन संस्थाले उपन्यास छाप्न छाडिसकेको चिठी मलाई पठाएको पनि थियो,' उनी विगततर्फ फर्किए, 'पछि बुवाले मेरो त्यो ख्यालख्यालको उपन्यास फालिदिनुभएछ।'

उपन्यास सबैले एकान्तमा पढ्ने भएकाले एकान्तमा सुन्ने र बोल्ने शब्दहरूलाई जस्ताको तस्तै लेखिएको उनले जानकारी दिए।
सञ्चारकर्मी शेखर खरेलले 'कर्नाली ब्लुज'लाई सेती र कर्णाली हेर्ने दूरबिन बताए। 'यो एकदम सामान्य मान्छेहरू जो खोलामा माछा मारिरहेका भेटिन्छन्, जो फुटपाथमा भेटिन्छन्, उनीहरूको कथा हो,' शेखरले उपन्यासको समीक्षा गरे, 'बालमनोविज्ञान, यौनिकता र उत्सुकतालाई सुन्दर चित्रण गरिएको छ।' कविले लेखेको उपन्यास भएकोले काव्य प्रभाव परेको चर्चासमेत चल्यो। 'कविले लेखेको हुनाले यो महाकाव्य हुन्छ कि उपन्यास भन्ने जिज्ञासा थियो,' शेखरले भने, 'तर यो कवितात्मक वर्णन भएको आख्यानको रूपमा मैले पाएँ।'
श्रीमती माइत गएको बेला उपन्यासलाई आफूले दोस्रो श्रीमती बनाएको ठट्टा गर्न शेखर पछि परेनन्। उपन्यासको पात्रले हरेक खुड्किलोमा आँसु झारेजस्तै आफूले पनि हरेक अध्याय पढ्दा आँसु खसालेको उनले सुनाए।
उपन्यास पढेपछि आफूमा जागेको कटासे बजार पुग्ने इच्छालाई लेखक केदार शर्माले लुकाउन सकेनन्। 'विगतमा जीवन बोकेको र अहिले सुनसान भएको कैलालीको कटासे बजार कस्तो होला, बु‰न मन लागेको छ,' केदारले भने, 'खण्डहरप्रति पनि आकर्षित गराइदिन यो उपन्यास सफल छ।'
'कर्नाली ब्लुज'मा लेखकले अहिलेसम्म बटुलेका सबै भावना पोखिदिएको हो कि भन्ने चिन्ता गर्दै उनले भने, 'बुद्धिसागरलाई आजैबाट दोस्रो उपन्यास लेख्ने चुनौती सुरु भएको छ।' राम्रो किताब छाप्ने अवसर सिर्जना गरिदिएकोमा प्रकाशक फाइनप्रिन्टका निरज भारीले बुद्धिसागरप्रति आभार प्रकट गरे। उनले आफ्ना सहकर्मी अजित बरालको भनाइ सापटी लिँदै भने, 'राम्रो किताब पढ्नुमात्र होइन छाप्नु पनि पर्छ।'

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्