Thursday, September 23, 2010

सहाना प्रधान ko सम्झनामा दोस्रो विश्वयुद्ध


सहाना प्रधान
नेपाली राजनीतिको अग्र भागअंा रहेर धेरै बर्षा काम गरेकी नेत्री सहाना प्रधान  काठमाडौंको असनटोलमा वि.सं १९८४ सालमा जन्मेकी  नेपाली राजनीतिको महत्वपूर्ण व्यक्तित्व हुन् । उनको जीवनmaa  धेरै उतारचढावले भरिएको छ । जीवनमा उनले धेरै घटनाहरू भोगिन् । उनको जीवन यात्रा पढ्दा रोमान्चक साथै अत्यासलाग्दो पनि लाग्छ । १९८८ असारमा आमाले संसार छोडेपछि १९८९ मा बुबा, हजुरआमा, काका गणेशलाल, सूर्यलाल र अरु तीन भाइबहिनीसहित पाँच वर्षको उमेरमा बर्मा पुगेकी सहानाले बर्मामा भएको दोस्रो विश्वयुद्ध देख्न पाइन् ।
यत्तिका वर्षछि सहानाले आफ्नै आँखाले देखेको त्यो दोस्रो विश्वयुद्धलाई यसरी सम्झन्छिन्-
सन् १९३९ तिर दोस्रो विश्वयुद्ध सुरु भयो । विश्वयुद्धको सुरुमा अमेरिकाको पर्ल हार्वरमा जापानले हानेको वा पहिलो हमला गरेको कुरा बुबाहरुले अखबारमा पढेको सम्झना मात्र छ । विश्वयुद्धको खतरा बर्मामा पनि पर्न सक्छ भनेर अनेक अनुमानहरु हुन थाले । किनभने बर्मा पनि ब्रिटेनको अधिपत्य भएको देश थियो । त्यो भएको हुनाले जापानले बर्मामा आँखा गाड्ने कुरा पक्का थियो । हामी बसेको देश बर्मा र हामी बसेको ठाउँ मेस्योमा पनि खतरा छ, "यहाँ पनि बम खसाउँछ" भन्ने गाँइगुइं सुरु भयो । सबैले सुरक्षाका लागि घरपछाडि ट्रेन्च बनाउनुपर्छ भन्ने कुरा गरे । ट्रेन्च भनेको खाडल खनेर मानिस उभिन मिल्ने ठाउँ हो । परिवार अनुसारका खाडल खन्न थाले मान्छेहरुले । सिंडि बनाउँदै तल जाने र खाडलमुनि बस्नुपर्छ भन्ने एक किसिमको उर्दी आयो । त्यहि अनुरुप सबैले टे्रन्च बनाए र हामीले पनि छातिले नछोइ भूइंमा टुक्रुक्क बस्ने गरि ट्रेन्च बनायौं । बम पड्कंदा कानको जालि नफुटोस् भनेर कानभित्र रुइ हालेर बस्थ्यौं । हवाइजहाज आउँदा सबै रुन थाल्थे र कोलाहल हुन्थ्यो । कसैको पनि होस हुदैनथ्यो । हामी दस/बाह्र पटक यसरी ट्रेन्चमा पस्थ्यौं । हवाइजहाज आउँथ्यो, बम खसाउँथ्यो र जान्थ्यो । "ल है हवाइजहाज आयो" भनी सुसूचित गर्न हवाइजहाज आउनासाथ साइरन बज्थ्यो । सन् १९४२, शनिबारको दिन । स्कूल र अफिसहरु बिदा थियो । म र मेरो भाइ सधैं दुध लिन जाने ठाउँमा बाल्टिनलाई झ्याइकुटी पार्दै दुध लिन गयो । त्यहि बेला साइरन बज्यो । साइरन बज्नासाथै भागदौड सुरु भयो । हामीलाई भाग्न वा दौडन आएन । हामी त रुन पो थालेछौं । हाम्रो घर नजिकै थियो तर, हामीलाई घर जाने हासै आएन । हामी एउटा रुखमुनि रुँदै बसेको थियौं । घरका परिवार सबै ट्रेन्चमुनि बस्न तम्तयार भएछन् । तर दुइजना साना नानी छैनन् । काका र दाई दुवैजना हामीलाई खोज्न आए । उनीहरुले हामीलाई तानेर घरमा ल्याए र टे्रन्चभित्र लगे । हामी ट्रेन्चभित्र पनि रोइरहेका थियौं । त्यसबेला डाङडुङ र डुङ डुङका साथ ठुलो बमबाड भयो । त्यो मेस्योमा भएको पहिलो बमबाड थियो । त्यो म अहिले पनि सम्झन्छु । मन थर्थर काप्छ । त्यसबेला दुइ सयभन्दा बढी हवाइजहाज आएका थिए बम खसाल्न । ती हवाइजहाज लाइन लाएर बुट्टैजस्तो भएर आउंथे । हामी भाग्दाभाग्दै पनि डराएर हेर्थ्यौं । एक लाइनमा पांचवटा हवाइजहाज तल आउँछन्, बम खसाल्छन र फेरी ती हवाइजहाज माथि जान्छन् । अर्को लाइनमा फेरी अरु नै हवाइजहाज माथि जान्छन् । अर्को लाइनमा फेरी अरु नै हवाइजहाज आउँछन् । ठुला-ठुला आवाजसहित बम बिस्फोट भयो, विनास भयो र एक घन्टापछि फेरी साइरन बज्यो । हामी डराई डराई बाहिर निस्कियौं । बाहिर निस्केपछि थाहा भयो, त्यो बमबाडमा हामी पढ्ने स्कूल ध्वस्त भयो । अस्पताल र महत्वपूर्ण ठाउँहरु पनि ध्वस्त भएछन् । अब हामी स्कूल जाने कुरै भएन । अहिले पनि डर लाग्छ सायद त्यो दिन शनिबार नभएको भए हामी पनि त्यो बमबाडमा पर्थ्यौं होला ।

बर्मा युद्धभूमिमा परिणत हुनथाल्यो । मान्छेको टाउकोमाथि हरहमेशा बम खस्ला झैं त्रास थियो । त्रासको ठुलो पहाड बोकेर मान्छेहरु साह्रै त्रसित जीवन बाँच्थे । हवाइजहाज आउने जाने भएकोले हाम्रो घरपरिवार र छिमेकीहरु १०/१२ परिवार अलि टाढाको एउटा पैलुङ भन्ने ठाउँमा गयौं । त्यहाँ नेपालीहरुको वस्ती थियो । त्यो ठाउँमा चटाईको बेरा र फुसको छाना बनाएर एउटा मेश सञ्चालन गरि त्यहिं बस्ने व्यवस्था गरियो । एकदिन अकस्मात ठुलो चट्याङ परेजस्तो आवाज आयो । हामीलाई त्यो गाउँ नै उड्यो जस्तो लाग्यो । गाउँ नै एकछिन त ग्रहण लागेजस्तो भयो, धुलो उडेर अन्धकार भयो । एकछिनमा धुलो र अन्कार हटेपछि त्यति पर रहेको शहरमा आगोका मुस्लाहरु देखापरे । हाम्रो शहर खत्तम भयो भन्ने सौच्यौं । हाम्रो परिवार सबै शहरमा थियो । अरुका कोही शहरमा र कोही गाउँमा थिए । त्यो दिन घरमा बेलुका खाना पाकेन । अचम्म हामीलाई भोक पनि लागेन । त्यस दिन हामी त्यसै डल्लो परेर पल्टियौं । अब यो देशमा बस्ने स्थिति भएन भनेर ठुलाबडाले कुरा गर्न थाले । अब नेपाल जानुपर्छ भन्ने चर्चा चल्न थाल्यो । त्यो बेलासम्म हामी भुराहरुलाई हाम्रो देश नै यहि हो । हामी जिन्दगीभरि यहिं बस्छौं भन्ने लागेको थियो ।

हामी नेपाल जाने टुङ्गो भयो । नेपालको लागि यात्राको थालनी भयो । हाम्रा सामानहरुमध्ये आफूलाई अति आवश्यक पर्ने मात्र बोकेर हामी हिंडेका थियौं । दश हिस्सामा नौ हिस्सा सम्पति सहरमा र एक हिस्सा मात्र हामीसंग थियो । त्यहाँ होटल र पसलमा काम गर्ने दुइ तीन जनालाई "कमाएजति तिमीहरुनै राख" भनेर हामी हिंड्यौं । मलाई सम्झना छ हामी बर्माबाट हिंडेर डेढ महिनापछि मात्र नेपाल आइपुगेका थियौं । हामीहरु रेल पर्खेर बस्यौं । रेल दिनको दुइ/तीनचोटि ओहोर दोहोर हुन्थ्यो । हामीलाई थाहा भयो कि ती ट्रेनहरु पनि बिचमै खतम भएछन् । लिग तोडिएकोले रेल बीचमै पल्टिएछ । हामी त्योबेला समर्साई स्टेसनमा थियौं । हामी किमकर्तव्यविमुढ भएका थियौं त्यो बेला । रातको १२ बजे एउटा गाडि आइपुग्यो । हामी त्यस गाडिमा चढ्यौं । बिहान ६/७ बजे बिहान हामी शहरमा आइपुग्यौं । अब हामी माण्डले हिंड्नु थियो । ट्रेनबाट रातको १० बजे माण्डलेको अमरापुरी भन्ने बन्दरगाहमा पुग्यौं । चुक घोप्टेझैं अँध्यारो थियो । स्याल कराईरहेको थियो । हामी के माथि हिंडिरहेका थियौं, हामीलाई थाहा थिएन । हाम्रो परिवार नौजना थियौं । सबै एकैठाउँमा गएर उसको टाउको उसको जिउमा, उसको टाउको अर्कोको जिउमा खप्टेर गुडुल्को परेर सुत्यौं । बिहानीको झिसमिसे उज्यालो भयो । त्यहाँ हामीले अनौठो दृश्य देख्यौं । एकदिन अगाडि त्यस ठाउँमा ठुलो विनास भएको रहेछ । ठुलो बमबाड भएको रहेछ । वरिपरि हजारौं मान्छेका लाश थिए । कसैको टाउको छैन । कसैको हात छैन । कसैको खुट्टा छैन । कसैको आधा जिउ छैन । कोलाहल थियो । कोही ऐया ऐया भन्दै चिच्याइरहेका थिए । कति त पानी मागिरहेका थिए । कति जीवनको अन्तिम सास फेर्दै थिए । त्यस्तो विभत्स दृश्य हामीले देख्यौं, म अहिले पनि त्यो बिर्सन सक्दिन ।

हाम्रो जहाजमा जाने सुर थियो । जहाजमा रोलकल गरिंदै थियो । हामी सबैको नाम बोलाइयो । हामी परिवार सबै जहाजभित्र पस्यौं । तीन तलाको थियो जहाज । हामी दोस्रो तलामा बसेका थियौं । जहाजभित्र हजारौं यात्रु अट्थ्यो । त्यहाँ कोठाहरु थिएन । जहाँ पायो त्यहिं थुप्रो भएर बस्थ्यौं । त्यहि बेला थुप्रै हवाइजहाज आए । पानीजहाजमा मान्छेहरु चढिसकेका थिएनन् । जहाजको लङ्गुर बाँधिरहेको थियो । ३/४ सय जति हवाइजहाज आएर ढररर बम खसाले । पानीजहाजमा त हानेनन् तर बाहिर हजारौं मान्छेहरु बसेका थिए । अधिकांश परिवारका सदस्यहरु आधि बाहिर र आधि जहाजभित्र थिए । बम हानेपछि आगो बल्यो । कसैको लोग्ने, कसैको स्वास्नी बाहिर थिए । जहाजका मान्छे आत्तिएर बाहिर जान खोज्थे । कोहि त्यो इरावति नदीमै हाम फाल्न खोज्थे । जहाजको माथि इन्जिन तताउन आगो बलेको थियो । कैयौं जनाले कता जाउँ कता जाउँ भएर पानीमा हामफाले । घण्टाभरसम्म कोलाहल भयो । भागदौड भयो । पछि शान्त भयो । जहाज चढ्न भनेर बाहिर तयार भएर बसेका हजारौं हजार मान्छे एकै चिहान भए । जमिन दनदनी बल्न थाल्यो । बाहिर एउटा सन्नाटा छाएको थियो । लाशहरु मात्र देखिन्थे जता हेरे पनि । हामीले सुन्यौं नजिकै "आर्सर" (हातहतियार भण्डार) थियो त्यहि भण्डार ध्वस्त हुँदा आगोको लप्का निस्किएर जमिन जलेको थियो । बाहिरका मान्छेहरु सबै जलेका थिए । ती मान्छेहरु जलेको बेला खसीबोका पोल्दा जसरी बटारिन्छ त्यसैगरि बटारिएका थिए । बाँचेका मान्छेहरुले मरेका र घाइते भएका मान्छेहरुलाई भकाभक पानीमा फाल्न थाले । पछि थाहा भयो बमबारि हुँदा जहाजको माथ्लो छत पनि प्वाल परेछ र क्याप्टेन पनि मरेछन् । दिउसो भएपछि एउटा सानो जहाज आयो । त्यो जहाजको क्याप्टेनले हामी बसेको जहाज चलायो । एकघण्टा पछि त्यो जहाज सानो बुट्यान भएको ठाउ“मा रोकियो । हामी तङ्ग्रिन बाहिर गयौं । हामीसंग खानेकुरा थिएन । त्यसरात भोकै सुत्यौं । बिहान मात्र जहाज चल्यो ।

सातौं दिन मात्र हामी भामो भन्ने उत्तरबर्मा आइपुग्यौं । हामीले जे पाइन्छ त्यो खाएर बा“चेका थियौं । भामोमा पुगेपछि हामी जहाजबाट ओर्लियौं । दन्तेकथामा भएजस्तै यो शहरमा मान्छे थिएनन् । साह्रै सुनसान थियो सहर । जताततै मान्छेहरुका लाश मात्र थिए । बजार अस्तव्यस्त थियो । हामी फेरी जहाज चढ्यौं र कत्था भन्ने शहरमा पुग्यौं । त्यो शहर पनि भामो जस्तै रहेछ । त्यो सहरभरि एकजना पनि मान्छे थिएनन् । मान्छेहरु मरिरहेका थिए र रेल पल्टिरहेको थियो । पानीजहाज कत्थाभन्दा अघि जाँदैनथ्यो । हामीसंग भएको सामानको भारि बोकेर हिंड्ने आंट थिएन । त्यसैले हामीले बोकेका धेरैजसो सामान त्यहिं फालेर हिंड्यौं । मैले पांचवटा फ्रक लगाएं, एकमाथि अर्को खप्टिएर । हामी त्यहाँबाट हिंडेको तीन घण्टापछि एउटा गाउँमा आइपुग्यौं । त्यो गाउँमा पुगेपछि जे भेटिन्छ त्यो ल्याएर सामूहिक भान्सा गर्यौं । ५/६ दिनपछि हवाइजहाज आयो । त्यो ब्रिटिसको हवाइजहाज रहेछ । हामीजस्ता धेरैलाई राहत बांडेर गयो । कुनै जहाज आएर सामान खसाल्न थाल्यो भने मेरो जिउ मुनि भएको सबै सामान मेरो हो भन्दै म घोप्टिन्थें र आफ्नो अधिकार जमाउंथे । कति हिंडियो भनिसाध्ये छैन । त्यस्तै महिनादिन हिंडेपछि मेरो ५ वटामा दुइवटा फ्रक फाटिसकेका थिए । जंगलका काडाले कोतरेका ती फ्रक गाँठो पारेर पनि लगाउनै नहुने भएपछि फालिदिन्थें ।

बा हामीलाई बाटोमा भएको पानी नखानु है भनेर सम्झाउँथे । पानीमा dont drink, poison used in water लेखिएको हुन्थ्यो । त्यस्तो लेखेको ठाउँमा २/४ जना मरिरहेको पनि भेटिन्थ्यो । अनेक दुःख भोग्दै हामी डाकबङ्लामा आइपुग्यौं । अनकन्टार जंगल, बाटै नभएका ठाउँहरु हिंडियो । काँडाले जिउ त कति कोतर्यो थाहा छैन । हामीले घुंडाभन्दा मुनि पानीमा र आधा जीउ जमिनमा गरेर पनि रात बितायौं ।
१५ दिन हिंडेर हामी नागा पर्वतमा पुग्यौं । नागा पर्वत आइपुग्नै लाग्दा बाटामा हामीले पैसा जलाएको देख्यौं । युद्धको बेला पैसाको अर्थ हुंदोरहेनछ । नागा पर्वतमा बाख्रा चरिरहेका थिए । भोकाहरुले बाख्रा मारेर खाए । मनिपुर पुग्न दुइ दिन मात्र बाँकि थियो । बाटो एकदमै सांघुरो थियो । त्यहि सांघुरो बाटोमा कुहिएका लाश भेटिन्थे । हामी लाशमाथि टेकेर अघि बढ्थ्यौं । कुहिएको लाशमाथि ग्वाम्म खुट्टा गाडिन्थ्यो ।

हामी बर्माको युद्धबाट पर भागेर टाढा आइपुगेका थियौं । पानीमा हिंड्दा कतिपटक गोहीबाट पनि बच्नुपर्थ्यो । हामीले बाटोमा मागेर पनि खायौं । मनिपुर पुग्न दुइदिनको बाटो भएपनि हामी नागा पर्वतमा एकहप्ता जति हिंड्यौं होला । हामी पानीमा पाँचदिन हिंड्यौं । कति मान्छेलाई पानीमा गोहिले पनि तान्थ्यो । अब हामी मनिपुर पुगेका थियौं । हामी हिन्दुस्थान आइपुग्यौं । मनिपुरेहरुले १ पैसाको एक गोल्टन बट्टा चिउरा बेचिरहेका थिए । हामीले पेटभरि सखर चिउरा खायौं । हामी शरणार्थी भयौं । हामीलाई कम्बल र सारि बाँडियो । हामी परिवार बांडिएर लरिमा चढ्यौं । हामी चढेको लरि इम्फाल गएर दुर्घटना भयो । त्यहाँ सातजना मरे । तर हाम्रो परिवारलाई केही पनि भएन । ३/४ घण्टा कुरेपछि अर्को गाडि आयो । हामी डिनापुर हस्पीटलमा १० दिन बस्यौं । अब हामी गुहाटी आइपुग्यौं । गुहाटीबाट हामी रेलमा पार्वतीपुरसम्म आइपुग्यौं । पार्वतीपुर अहिले बङ्गलादेशमा पर्छ । हामीसंग केही पनि थिएन । हामीले एउटा बाकस किन्यौं । साडि र अरु लुगा पनि किन्यौं । बुबाले मलाई एउटा फ्रक किनिदिनुभयो ।

हामी गाडिबाट वीरगन्ज आइपुग्यौं । हामीले यति ठुलो यात्रा तय गरेर आफ्नो माटो टेकेका थियौं । बाबा त रुनुभयो खुसीले । वीरगन्जमा "सवारी मेरो रेलैमा" भन्ने गीत मैले पहिलोपटक सुनें । हामी थानकोटबाट हिंडेरै काठमाडौंको आम्रो घर असन आइपुग्यौं ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्