Wednesday, November 10, 2010

क्यासिनोका संचालकलाई कारबाही गरिने

नेपालीलाई प्रवेश दिने जुवाघरका संचालकविरुद्ध प्रहरीले पक्राउपुर्जी जारी गर्ने भएको छ । लामो समयदेखि राजधानीमा संचालित जुवाघरमा नेपालीलाई प्रवेश दिई गैरकानुनी रुपमा जुवा खेलाउने संचालकविरुद्ध मुद्दा चलाउन लागेको प्रहरीपरिसर काठमाडौंका प्रमुख प्रहरी उपरीक्षक भोगबहादुर थापाले  जानकारी दिनुभयो। विदेशी पर्यटकलाई मात्रै जुवाघरमा प्रवेश दिने भन्दै अनुमति लिएका जुवाघरले गैरकानुनी रुपमा नेपालीलाई प्रवेश गराई जुवा खेलाएको पाइएकाले संचालकविरुद्ध पक्राउपुर्जी जारी गरिएको एसपी थापाले जानकारी दिनुभयो।
राजधानीमा रहेका आठवटा जुवाघर क्यासिनो का संचालकविरुद्ध पक्राउपुर्जी जारी गरी कारबाही अगाडि बढाउने जानकारी एसपी थापाले दिनुभयो। नेपालीहरुलाई क्यासिनोमा प्रवेश दिएको पाइएपछि क्यासिनो संचालकहरुलाई पटकपटक सचेत गराउँदासमेत साचालकहरुले कुनै वास्ता नगरेपछि उनीहरुउपर पक्राउपुर्जी जारी गर्नुपरेको एसपी थापाले बताउनुभयो। नेपाल रिक्रिएसन सेन्टरको नामबाट भारतीय नागरिक राकेस वाद्वा र शालिनी वाद्वाले पाँचवटा र किशोर सिलवालले तीनवटा क्यासिनो राजधानीमा साचालन गरेका छन्। प्रहरीले क्यासिनोमा जुवा खेल्ने नेपालीलाई पक्राउ गरेर कारबाही गरे पनि संचालकविरुद्ध कुनै कारबाही नभएको भन्दै व्यापक टीकाटिप्पणी उठिरहेका बेला काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न पुगेका एसपी थापाले क्यासिनो मालिकविरुद्ध कारबाही अगाडि बढाइएको बताउनुभयो।

काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको एक हप्तामा २८ जना जुवाडेलाई पक्राउ गरी कारबाही अगाडि बढाउँदासमेत क्यासिनो जाने नेपालीको संख्या नघटेपछि संचालकविरुद्ध कारबाही अगाडि नबढाएसम्म सो समस्याले पार नपाउने देखिँदा नयाँ रणनीतिका साथ कारबाही प्रक्रिया अगाडि बढाउने उहाँले बताउनुभयो।
क्यासिनो र प्रहरीबीचको सम्बन्धलाई लिएर विभिन्न किसिमका समाचार बाहिर आएको र प्रहरीको कामकारबाहीप्रति नै टिप्पणी उठेको र गैरकानुनी रुपमा नेपालीलाई क्यासिनो प्रवेश गराउनेउपर कारबाही नभएको भन्ने जनगुनासोलाई समेत ध्यानमा राखेर संचालकविरुद्ध कारबाही अगाडि बढाइएको पनि उहाँले बताउनुभयो।
बितेको एक हप्तामा गैरकानुनी रुपमा क्यासिनो प्रवेश गरी जुवा खेल्ने २८ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको समेत उहाँले जानकारी दिनुभयो। क्यासिनो संचालकविरुद्धको कारबाही जटिल भए पनि लाखौं नेपाली घरबारविहीन हुन पुगेका र क्यासिनो संचालनका लागि अनुमति लिँदा एउटा सर्तमा लिने अनि साचालन गर्दा सर्त पूरा नगरेका कारण क्यासिनो संचालकहरुलाई कारबाही गर्नुपरेको समेत उहाँले बताउनुभयो।  

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्