Wednesday, November 3, 2010

सुन पसलका अधिकांस तराजू अबैधानिक

 गुणस्तर तथा नापतौल विभाग क्षेत्रीय कार्यालयको टोलीले बुधबार न्युरोड क्षेत्रका १२ वटा सुन पसलमा गरेको अनुगमनमा अधिकांश सुनचाँदी पसलले नापतौल गर्ने तराजु नवीकरण तथा दर्ता नगरिएको पाइएको छ । यदि तपाई सुन किन्ने सोचमा हुनु हुंछ भने एकपटक सोच्नुस . सुन जस्तो बहु मूल्य धतुमा यस्तो बतामासी भए पछि उपभोक्ता थ्गिने त भए नै .
सुनचाँदी कारोबार गर्ने पसलमा राखिने तराजु नापतौल तथा गुणस्तर विभागमा दर्ता भई प्रत्येक वर्ष नवीकरण गरिएको हुनुपर्ने प्रावधान छ । तर, न्युरोडमा अवस्थित महालक्ष्मी सुनचाँदी पसल, निलम गहना पसल, सयपत्री ज्वेलर्स तथा लक्ष्मी ज्वेलर्सको तराजु विभागमा दर्ता गरिएपछि नवीकरण नगरिएको अनुगमनमा पाइएको छ । त्यस्तै, ट्वान्टी फोर सिटी सुनचाँदी पसल तथा जय मातादी सिल्भर प्यालेसले इलेक्ट्रोनिक ब्यालेन्स -तराजु) विभागमा दर्तै नगरी सुनचाँदी कारोबार गरिरहेको भेटिएको हो ।
अनुगमन टोलीले त्रुटि देखिएका सुनचाँदी व्यवसायीलाई नापतौल तथा गुणस्तर विभागको कार्यालयमा तीन दिनभित्र दर्ता तथा नवीकरण प्रक्रिया पूरा गर्न आदेश दिएको छ । उनीहरूबाट तराजु नवीकरण तथा दर्ता नगरेकामा अधिकतम १ हजार रुपैयाँ र हेल्चेक्रयाइँस्वरूप थप १ हजार रुपैयाँ जरिवाना लगाइने विभागका एक अधिकारीले बताए ।
विभागको अनुगमनमा त्रुटि भेटिएका गहना व्यवसायी उपभोक्तालाई ठग्ने उद्देश्यले त्यसो नगरेकोे बताउँछन् । उनीहरूले इलेक्ट्रोनिक ब्यालेन्स दर्ता एवं नवीकरणसम्बन्धी जानकारी नहुँदा विभागमा नवीकरणका लागि नगएको जानकारी दिए । तिहारको समय भएकाले बजारमा सुनचाँदी माग बढेको सुनचाँदी व्यवसायीले बताएका छन् । तिहार समयमा सुनचाँदीका गरगहना र सामग्री जोड्ने प्रचलन भएका कारण माग बढेको नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यको भनाइ छ । उनले भारतीय बजारमा अहिले पनि सुनचाँदीको माग बढी भएको बताए । 'नेपालको सहरी इलाकामा सुनचाँदी माग बढी भए पनि मूल्य उच्च हुँदा ग्रामीण क्षेत्रमा भने माग घट्दै गएको छ,' शाक्यले भने, 'अझै पनि भारतसँग जोडिएका सीमा क्षेत्रमा उतैबाटै सुन आपूर्ति हुँदै आएको छ ।'
राष्ट्र बंैकले मंगलबार बोलकबोल प्रक्रियामार्फत बिक्रीका लागि आह्वान गरेको १७५ केजी सुन सबै तथा २ हजार केजी चाँदीमध्ये १८ सय केजी बिक्री भएको थियो । राष्ट्र बैंकले बोलकबोल प्रक्रियामार्फत कायम गरेको सुन प्रतिकेजी ३१ लाख ९० हजार १ सय ५ रुपैयाँ र चाँदी प्रतिकेजी ५९ हजार ७ सय २२ रुपैयाँमा बिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय बुधबार बजारमा सुन प्रतिआउन्स १३५४.२० अमेरिकी डलर र चाँदी प्रतिआउन्स २४.८० अमेरिकी डलर कायम भएको छ । मंगलबार नेपाली बजारमा सुन प्रतितोला ३८ हजार ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो भने बुधबार ४ सय २५ रुपैयाँ घटेर ३८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, चाँदी मंगलबार प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भएकोमा बुधबार ७ सय १२ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।
   

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्