Monday, February 21, 2011

परीक्षार्थी, पत्रकार कुटिए परीक्षा रद्द

फागुन ,९ काठमांडू , चाबहिलको मित्रपार्कमा आज बिहान  कलेज जाँदै गरेकी एक छात्रालाई किचेर सख्त घाइते बनाएपछि पशुपति क्याम्पसका विद्यार्थीहरुले गरेको प्रदर्शनका कारण सो क्षेत्र बिहानैदेखि तनावग्रस्त छ। प्रहरीले परीक्षार्थी र पत्रकारहरुलाई समेत कुटपिट गरेका छन्। बिहान साढे छ बजे चाबहिल मित्रपार्कमा पानी ट्याङ्करले पशुपति क्याम्पसमा कक्षा १२ मा अध्ययनरत तेजकुमारी सुवेदीलाई किचेको थियो। उनको हाल ओम अस्पतालको आइसीयुमा उपचार भइरहेको छ। दुर्घटना भएको थाहा पाएपछि क्याम्पसका विद्यार्थीहरुले फरार ट्याङ्कर चालकलाई पक्राउ गर्नुपर्ने र दोषीमाथि कारबाहीको माग गर्दै आन्दोलन गरेका थिए।  प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरी केही राउन्ड अश्रुग्याससमेत प्रहार गरेको थियो।
नागरिककर्मीसहित पत्रकार कुटिए-
आक्रोशित पशुपति क्याम्पसका विद्यार्थीहरु र प्रहरीबीच झडपको क्रममा प्रहरीले क्याम्पसभित्र प्रवेश गरी ढोका थुनेर लाठी प्रहार गर्दै गरेको तस्बिर खिच्ने क्रममा आफूहरुमाथि आक्रमण भएको पत्रकारहरुले बताएका छन्।  घाइते हुनेमा नागरिककर्मी विजय राई लगायत नेपाल समाचारपत्रका संजोग मानन्धर, कान्तिपुरका निरन्जन श्रेष्ठ, गोरखापत्रका विकास द्वारे, राजधानीका रजेन्द्र केसी छन्। न्युज२४ टेलिभिजनका रिपोर्टर देवकी विष्टले आफूलाई प्रहरीले भुत्ल्याएर पिटेको बताइन्। न्युज २४ कै क्यामरापर्सन नवराज श्रेष्ठ पनि घाइते भएका छन् भने उनको क्यामेरा पनि फुटेको छ।
परीक्षा दिन आएका कुटिए-
त्रिचन्द्र कलेज र पद्यकन्या कलेजका विद्यार्थीहरुको स्नातक प्रथम र तृतीय वर्षको परीक्षा केन्द्र रहेको पशुपति क्याम्पसमा प्रहरीले भित्र प्रवेश गरेर अन्धाधुन्ध लाठी प्रहार गरेपछि परीक्षा दिन आएका ६० जना घाइते भएको स्ववियु सभापति मनोज वैद्यले 'नागरिकन्युज'लाई बताए। घाइते मध्ये १५ जनाको टाउको फुटेको वैद्यले जानकारी दिए। यसैबीच सहायक केन्द्राध्यक्ष चन्द्रप्रकाश पन्तले सूचना जारी गर्दै आजको परीक्षा रद्द भएको बताएका छन्। यसअघि प्रहरी हस्तक्षेपका कारण  भागाभाग भएपछि परीक्षा हुने हो कि नहुने भन्नेमा परीक्षार्थीबीच अन्यौल भएको थिए।  त्रिचन्द्र कलेजका विद्यार्थीहरुले प्रहरी हस्तक्षेपका कारण परीक्षाको वातावरण बिथोलिएको भन्दै परीक्षा स्थगित गर्नुपर्ने माग गरेका थिए। त्रिचन्द्रका परीक्षार्थी विजय केसीले प्रहरीले हस्तक्षेपका क्रममा आफ्नो मोबाइल खोसेको र अन्य परीक्षार्थीको पनि पर्स खोसेको आरोप लगाए।
साभार :नागरिक न्यूज़ 

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्