Thursday, March 24, 2011

राष्ट्रिय अर्थतन्त्र, उद्यमशीलता र व्यवसायिकतामा कार्यकर्ताको पहुँच

 सुरेन्द्र पाण्डे
 हाम्रो पार्टीमा धेरै अघिदेखि कार्यकर्ताहरूको आर्थिक समस्याका बारेमा छलफलहरू भए तापनि समाधान गर्ने विषयमा बहस चल्न सकेको छैन । आर्थिक उपार्जनको सवालमा केन्द्रीय तहका पार्टी नेतादेखि स्थानीय तहसम्मका पार्टी कार्यकर्ताहरू आ–आफ्नै ढङ्गले उपार्जनमा सरिक देखिए तापपनि त्यसबारेमा खुलस्त हुन चाहेको भने देखिँदैन । कतिपय नेता तथा कार्यकर्ता पङ्क्तिमा आर्थिक उपार्जन गर्ने नेता तथा कार्यकर्ताहरूप्रति सकारात्मक दृष्टिकोण राख्न नसक्ने पनि त्यसको एउटा कारण बनेको छ । आर्थिक उपार्जन गर्नु नै गलत हो भन्ने यस्ता व्यक्तिहरूको दृष्टिकोणमा आर्थिक उपार्जनतर्फ लाग्दा गैरसर्वहारा हुने, पार्टीको लक्ष्य तथा आदर्शबाट टाढा भएको भन्ने रहेको छ । यस्ता नेता तथा कार्यकर्ताहरू राजनीतिक र साङ्गठनिक कार्यमा न त सफल देखिन्छन् न त व्यक्तिगत आर्थिक उपार्जनमा सरिक देखिन्छन् । त्यस्तो दृष्टिकोण राख्ने नेता तथा कार्यकर्ताहरूले लुकिछिपी आर्थिक उत्पादन गर्ने र आफ्नो जीवनशैलीलाई उन्नत गर्ने नेता तथा कार्यकर्ताहरूलाई औँला ठड्याउन पनि सकेका छैनन् । कतिपय नेता तथा कार्यकर्ताहरूमा आफूले लुकिछिपी आर्थिक उपार्जन गर्ने, पार्टी र सरकारबाट प्राप्त हुने अधिकतम सुविधाहरू प्राप्त गर्ने तर अरूलाई भने आर्थिक उपार्जन गरेकोमा आलोचना गर्ने र उनीहरूलाई निरुत्साहित पार्ने प्रवृत्तिहरू रहेको देखिन्छ । अर्कातर्फ कार्यकर्ताहरूका केही पङ्क्तिहरू आर्थिक समस्याबाट तड्पिएका छन् र उनीहरूमा उपाय र जानकारीको अभाव छ । हिजोका दिनमा विभिन्न रूपले आर्थिक काममा सक्रिय हुने तर राजनीतिक काममा कम समय दिने समर्थक तथा कार्यकर्ताहरूले भने परिवर्तनपछिको खुला राजनीतिक अवस्थामा धेरै अवसरहरू पाएको देखिन्छ र उनीहरूको पहुँच र आर्थिक अभिवृद्धि छिटो भएको देखिन्छ ।
आर्थिक उपार्जनका सम्बन्धमा देखा परेका यस्ता प्रवृत्तिहरू गलत हुन् र त्यसलाई हटाउनुपर्छ । पार्टी निर्माण तथा मुलुकको दु्र्ततर विकासको लक्ष्यलाई आत्मसात गर्दै कार्यकर्ताहरूको ठूलो पङ्क्तिलाई आर्थिक रूपले आत्मनिर्भर गर्नका लागि स्पष्ट नीति र योजना बनाउनुपर्छ । यसका लागि कार्यकर्तालाई अग्रसर, प्रेरित र दिशानिर्देश गर्नु आजको आवश्यकता हो ।

 हिजोका दिनमा हाम्रो पार्टी भूमिगत अवस्थामा थियो । निरङ्कुश तानाशाही राजतन्त्रात्मक शासनका कारण कार्यकर्ताहरूले भूमिगत, पूर्णकालीक र अर्धभूमिगत भई काम गर्नुपर्ने बाध्यता थियो । त्यसबेलाको मुख्य आवश्यकता र जोड निरङ्कुश व्यवस्थाको अन्त्य गर्नु थियो । यही उद्देश्य परिपूर्तिका लागि भूमिगत, अर्धभूमिगत र पूर्णकालीक कार्यकर्ताको आवश्यकता थियो । नेपालको वस्तुगत स्थितिमा मजदुर वर्गको न्यून सङ्ख्या र किसान तथा निम्न पुँजीपति वर्गको वर्चश्व भएका कारण क्रान्तिको नेतृत्वमा संलग्न हुनेहरूमा मुख्य रूपले निम्न पुँजीपति वर्गको वर्चश्व रहेको थियो । यी वर्ग आधार भएका कार्यकर्ताहरूमा सर्वहाराकरण गर्नका लागि उनीहरूलाई आर्थिक आयआर्जनबाट अलग गरी भूमिगत, अर्धभूमिगत र पूर्णकालीक बनाउनुपर्ने मान्यता हामीमा थियो । यसो गरिँदा उनीहरूको वर्ग रूपान्तर हुने ९म्भ(अबिककष्लन०, सर्वहारा वर्गको कार्यकर्ताको रूपमा चिनिने भन्ने हाम्रो मान्यता थियो । अर्कातिर नेपाली वामपन्थी समूहभित्र चिनियाँ सांस्कृतिक क्रान्तिको प्रभाव पनि अत्यधिक मात्रामा थियो ।  पूर्णकालीक कार्यकर्ता भई आर्थिक गतिविधिबाट टाढा रहे मात्र सच्चा कम्युनिस्ट तथा सर्वहारावादी हुने भन्ने मान्यता पनि थियो । त्यो बेला भूमिगत कार्यकर्ताहरूको स्थान पार्टीभित्र उच्च रहने गर्दथ्यो । त्यसै कारणले पार्टीका नेता तथा कार्यकर्ताहरू पढाइ तथा जागिर छोड्ने र आर्थिक गतिविधिबाट टाढा रहन थाले । यदि भूमिगत वा पूर्णकालीक नेता तथा कार्यकर्ताहरूले जागिर वा व्यवसायमा सरिक भएमा ‘वुर्जुवा’ भएको, क्रान्तिबाट विचलित, डरपोक, व्यक्ति तथा पारिवारिक स्वार्थलाई बढी ध्यान दिएको भन्ने आरोप लाग्नेजस्ता समस्याले पार्टीभित्र प्रश्रय पाइरहेको थियो । त्यही अवस्थाका कारण आर्थिक उपार्जन वा राजनीतिका बारेमा निर्णय गर्नु पर्दा कतिपय कार्यकर्ताहरू पार्टीका जिम्मेवारी र राजनीतिक गतिविधिबाट टाढासमेत रहन पुगे ।
 युवा अवस्थामा राजनीतिमा होमिएका कार्यकर्ताहरू समयक्रममा क्रमशः बालबच्चाका अभिभावक बन्ने र सामाजिक जिम्मेवारी बहन गर्नुपर्ने बाध्यताले उनीहरूको आर्थिक भार पनि बढ्दै गएको छ । उनीहरूको मुद्दालाई सम्बोधन गरी ती अवस्थामा रहेका नेता तथा कार्यकर्ताहरूलाई पार्टी काममा संलग्न गराउनु र जिम्मेवारी दिई पार्टी कामलाई फैलाउनु आवश्यक छ ।
भूमिगत अवस्थाबाट खुला अवस्थामा पार्टी प्रवेश गरेपछि पार्टीका गतिविधिहरूको स्वरूप र तरिका पनि फेरिएको छ । हिजोजस्तै जनतामा आधारित तथा साना कार्यक्रमहरूको ठाउँमा पार्टीको व्यवस्थापनमा ठूला कार्यक्रमहरू गर्नुपर्ने तथा अन्य पार्टीहरूसँग समेत प्रतिस्पर्धा गर्नुपर्ने स्थिति सिर्जना भएको छ । पार्टीको कार्यक्रम सफल बनाउन खटिने कतिपय नेता तथा कार्यकर्ताहरूले यसका लागिसमेत आर्थिक भार बेहोर्नुपर्ने स्थिति विकास भएको छ ।
यो दशकभित्र नेपालमा पनि सूचना तथा प्रविधिले विकास गरेको छ । यसको साथसाथै नेता तथा कार्यकर्ताहरूबाट वस्तुहरूको उपभोगमा पनि वृद्धि भएको छ । फोन, मोबाइल, कम्प्युटरजस्ता चीजहरूबाट वञ्चित हुने नेता तथा कार्यकर्ताहरू राजनीतिक गतिविधिमा समेत पछि पर्ने अवस्था सिर्जना भएको छ । यसले पनि नेता तथा कार्यकर्ताहरूमा आर्थिक भार थपिएको छ ।
राजनीतिक परिवर्तनपछि देखा परेका यस्ता विषयहरूलाई पार्टीले सम्बोधन नगरी समस्या समाधान हुन सक्दैन ।
२०४६ को परिवर्तनपश्चात पार्टी खुला हुनुका साथै सबै नेता तथा कार्यकर्ताहरू सार्वजनिक भए । विभिन्न तहका चुनावहरूमा पार्टीले नेता तथा कार्यकर्ताहरूलाई चुनावी मैदानमा खडा  ग¥यो । यस क्रमदेखि हालसम्म विभिन्न नेता तथा कार्यकताहरू सांसद तथा मन्त्रीहरू हुँदै आएका छन् । स्थानीय निकायअन्तर्गतका चुनावमा पनि हजारौँ नेता तथा कार्यकर्ताहरू निर्वाचित भए । त्यसबाहेक राजनीतिक नियुक्ति पाउनेहरूको पनि ठूलै सङ्ख्या रहेको छ । यो स्थितिबाट नेता तथा कार्यकर्ताहरूले पारिश्रमिक पनि पाएका छन् । यो नयाँ परिस्थितिमा पूर्णकालीक कार्यकर्ता वा आंशिक कार्यकर्ताको परिभाषा के हुनुपर्ने हो भन्ने बारेमा निक्र्यौल गर्नु जरुरी भएको छ । आय आर्जनको हिसाबले व्याख्या गर्नुपर्दा हालको स्थितिमा कोही पनि पूर्णकालीक नेता तथा कार्यकर्ता नरहेको देखिन्छ । राजनीतिक परिवर्तन तथा राजनीतिक पहुँच र खुला अर्थव्यवस्थाको कारणले बहुसङ्ख्या नेता तथा कार्यकर्ताले अन्य विभिन्न तरिकाले आर्थिक उपार्जन गर्ने वातावरण पनि बनेको छ ।
२०६३ को राजनीतिक परिवर्तनपूर्व राजनीतिक पार्टीहरूको मुख्य लक्ष्य राजनीतिक परिवर्तन मात्र थियो र राजनीतिक प्रहारको केन्द्रविन्दु राजतन्त्र थियो । २०६३ का परिवर्तनकामी घटनाक्रमले राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना भयो । यो परिवर्तनले हिजो र आजको राजनीतिक अवस्था र पार्टीका कार्यनीतिक लक्ष्य दुवैमा परिवर्तन आएको छ । जसरी लक्ष्य र अवस्थामा परिवर्तन आएको छ, त्यसरी नै पार्टी निर्माणको विधि, पार्टीको कार्यशैली र कार्ययोजनालाई परिवर्तन गर्नुपर्ने हुन्छ र यसैको प्रकाशमा पार्टी कार्यकर्ताको जिम्मेवारी निश्चित हुनुपर्छ । कुनै पनि परिवर्तनलाई संस्थागत गर्न राजनितिक कार्य र नारा मात्र पर्याप्त हुँदैन । मुलुकलाई आर्थिक समृद्धितिर डो¥याउन सक्दा मात्र हामीले प्राप्त गरेका राजनीतिक अधिकारहरू सुनिश्चित हुन सक्दछ । त्यसकारण आजको परिवर्तित अवस्थामा पार्टीको मुख्य कार्यभार सामाजिक तथा आर्थिक रूपान्तर गर्नु हो ।
 पार्टीले सधैँभरि सामन्त, दलाल तथा नोकरशाहीतन्त्रको विरोध गर्दै स्वतन्त्र राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिँदै आएको छ । तर, परिवर्तित राजनीतिक अवस्थाअनुरूप पार्टीले पटकपटक सरकारमा जाने तथा नेतृत्व गरेका बखतसमेत त्यसको समाप्तिका लागि योजना बनाउने तथा काम गर्ने गरेको छ वा त्यसकै पक्षपोषण वा बढावा गर्नका लागि काम गरेको छ भन्ने बिषयमा मूल्याङ्कन हुन सकेको छैन । यसका लागि पार्टीका नेता तथा कार्यकर्ताहरू आजैदेखि लाग्नु जरुरी छ । यसका लागि पार्टीले गर्ने कार्यहरूबाहेक संविधान तथा कानुनमा कस्ता परिवर्तन जरुरी छ र कस्तो नीति तथा कार्ययोजनाका साथ अघि बढ्नुपर्छ जस्ता अहम् प्रश्नमा छलफल नगरी हाम्रो समाजलाई आमूल परिवर्तन गर्न सम्भव हुनेछैन । न त दस्तावेजमा लेखिने आमूल परिवर्तन वा नयाँ नेपालको रटानले यो प्राप्त हुनेछ ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्