Wednesday, June 15, 2011

युथफोर्स अध्यक्ष महेश बस्नेत पक्राउ

२ असार, सुनसरी,  एमाले युवा दस्ता युथफोर्सका अध्यक्ष महेश बस्नेतलाई प्रहरीले आज बिहान सुनसरीको इटहरीबाट पक्राउ गरेको छ । विराटनगरका पत्रकार खिलानाथ ढकालमाथि भएको कुटपिटको मुख्य योजनाकार भनिएका युथफोर्स मोरङ उपाअध्यक्ष पर्शुराम बस्नेतलाई संरक्षण दिएको भन्ने आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले बस्नेतलाई उनी बसेको इटहरीस्थित रिभर साइड होटलबाट पक्राउ गरेको हो । बस्नेतलाई पक्राउ गर्ने क्रममा प्रहरी र युथफोर्स कार्यकर्ताबीच केहीबेर झडपसमेत भएको थियो । झडपका क्रममा आफ्ना आधादर्जन कार्यकर्ता घाइते भएको युथफोर्सले जनाएको छ । इलाका प्रहरी कार्यालय इटहरीका पूमुख प्रही निरीक्षक महेन्द्रकुमार श्रेष्ठले माथिको आदेशमा बस्नेतलाई समातिएको बताउनु भएको छ । बस्नेतलाई प्रहरी नायव उपरीक्षक भिम दाहालको नेतृत्वमा विराटगनरबाट आएको प्रहरी टोलीले पूर्व क्षेत्रिय प्रहरी कार्यालय विराटनगर पुरयाको  छ ।
अध्यक्ष बस्नेतले पर्शुराममाथिको आरोप मिथ्या भएको दावी गर्दै उनी आफूसँगै रहेको र सके पक्राउ गरेर देखाउन गृह प्रशासन र प्रहरीलाई सार्वजनिक रुपमै चुनौती दिँदै आएका थिए । पक्राउ पर्नु भन्दा केही बेरअघि बस्नेतले सशस्त्र द्वन्द्वदका क्रममा सयौंको हत्यामा संलग्न रहेका गृहमन्त्री कृष्णबहादुर महराले शक्तिको दुरुपयोग गरी युवासंघ र एमालेलाई फसाउन खोजेको आरेप लगाएका थिए ।
प्रहरीले पत्रकार कुटपिट घटनामा संलग्न मध्येका रोहित कोइराला र मनोज राईलाई पक्राउ गरेपनि मुख्य योजनाकार भनिएका पर्शुराम बस्नेत अझै समातिएका छैनन् । यसअघि मोरङ प्रशासनले पत्रकार कुट्ने कार्यकर्ताको बचाउका लागि युवा संघले प्रतिकार सभाको तयारी गरेपछि आज दिनभरका लागि निषेधाज्ञा जारी गरेको थियो ।
विराटनगरको कञ्चनबारीदेखि दक्षिण रोडशेष चोक र सिंगिया खोलादेखि पश्चिम नहरसम्मको क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन नपाउने गरी निषेधित क्षेत्र घोषणा गरिएको हो । प्रतिकार सभालाई युथफोर्स अध्यक्ष महेश बस्नेत र पत्रकार खिलानाथ ढकालमाथि भएको आक्रमणका मुख्य अभियुक्त पर्शुराम बस्नेतले समेत सम्बोधन गर्ने भन्दै प्रचार गरिएको थियो ।
पक्राउविरुद्ध युथफोर्सद्वारा प्रदर्शन
आफ्ना अध्यक्ष महेश बस्नेतलाई पक्राउ गरिएकोमा आक्रोशित युथफोर्स कार्यकर्ताले त्यसको विरोधमा इटहरीमा प्रदर्शन गरेका छन् ।
उनीहरुले जर्वजस्ती इटहरी बजार बन्द गराउनुका साथै झण्डै आधा दर्जन सार्वजनिक सवारी साधनमा तोडफोड गरेका छन् । यस्तै युथफोर्स कार्यकर्ताले सडकमा ढुङामुढा तेस्र्याएर पुर्व पश्चिम राजमार्ग र स्थानीय सडकमा अवरोध सिर्जना गरेपछि रुपमा यातायात व्यवस्था पूर्ण प्रभावित भएको छ । युथफोर्स कार्यकर्ताले माओवादीले गृह मन्त्रालयको दुरुपयोग गरी एमालेविरुद्ध षड्यन्त्र गरेको आरोप लगाएका छन् । प्रदर्शनका कारण इटहरी क्षेत्रको वातावरण तनावपूर्ण बनेको छ । प्रहरी र युथफोर्सबीच दोहोरो झडप हुने भयले स्थानीय बासिन्दा त्रसित बनेका छन् । थप तनाव हुन नदिन इटहरीमा ठूलो संख्यामा प्रहरी परिचालन गरिनुका साथै त्यसक्षेत्रको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्