Monday, February 25, 2013

कसरी दिन काट्दै छन् त खुम बहादुर खडका डिल्लीबजार कारागार मा

 
यो लेख खुम बहादुर खड्काको फेस बुक बाट  लिएको हो     
 कुनै बेला खुमवहादुर खडका नेपाली कांग्रेसका दोस्रो पुस्ताका प्रभावशाली मानिन्थे । बिद्याथी राजनीतिवाट नेपाली कांग्रेसमा कुनै समय राज गरेका उनै खुमवहादुर यतिखेर भ्रष्टचारको आरोपमा डिल्लीबजारस्थित सदर खोर जेलमा छन् । तर, जेलमा पनि उनको मान, सान भने जति बाहिर हुन्थ्यो, अहिले पनि त्यति नै छ । दैनिक २ सय बराबर नेता÷कार्यकर्ता र सर्वसाधारण पग्छन् । जेलमा सवै सुविधा प्राप्त भएर हुनुपर्छ– आज उनले आफ्नो मनको पीडा फेसबुकमार्फत पोखेका छन् । कसैको पनि नाम उल्लेख नगरेका खडकाले फेसबुकमा ‘भ्रष्टचारमा शुन्य सहनशिलता’ भन्ने नारा दिने प्रधानमन्त्री बाबुराम भट्टराई पत्नि हिसिला यमीको नाम भने उल्लेख गरेका छन् । आफु कुनै पनि हालतमा भ्रष्टचारी नभएको दावी गर्दै खडकाले आफु जेल पर्दा खुच्चिङ भनेको उल्लेख गर्दै भनेका छन्– हिसिला यमीले भन्थिन्, ‘भ्रष्टाचारीलाई कारबाही गर्‍यौँ तर उनको हालत जनताले बुझ्दै छन् । जेलवाट के भन्छन त खडका र उनको दैनिकी कस्तो छ ? के लेखे त अरु ? फेसबुकवाट साभार गरिएको खडकाका कुरो जस्ताको उस्तै......

करिब सात महिनाअघि सर्वोच्चमा मेरो भ्रष्टाचारको मुद्दामा सुनवाइ हुँदै थियो । फैसला सुन्न अदालत गएँ । चाहेको भए भागेर हिँड्न सक्थेँ । तर, त्यसो गरिनँ, किनकि मलाई एक इन्च पनि लागेको थिएन, विपक्षमा फैसला होला भन्ने । फाइलमा जे थियो त्यहीअनुसार फैसला भएको भए मैले मुद्दा जित्ने थिएँ । तर, त्यसो भएन । अनेक शब्दहरू तानतुन गरेर मलाई भ्रष्टाचारी सावित गरियो । मलाई यहाँ पुर्‍याउनेमा अरू पार्टीका त धेरै थिए नै आफ्नै पार्टीका मान्छेको पनि हात छ ।

फैसलापछि अदालतबाट सिधै डिल्लीबजार ल्याइने थाहा हुनेबित्तिकै घरबाट आवश्यक सामान मगाएँ । बेलुकी चार बजेको थियो फैसला हुँदा । अदालतबाट सोझै यहीँ ल्याए । मान्छेलाई लाग्यो होला, राजनीति गरेको र पटक–पटक मन्त्री भएको मान्छे भ्रष्टाचारको आरोपमा जेल पर्दा रातभरि चिन्ता र सुर्ताले निदाएन होला भन्ने । तर, मलाई त्यस्तो केही भएन । सधैँझैँ त्यो रात पनि नौ बजे नै निदाएँ ।
परिवारलाई सम्झनु स्वाभाविकै हो । त्यो त भावनात्मक कुरा भयो । तर, मलाई अब जेल परँे, सबै कुरा खत्तम सकियो, परिवारले के गर्लान् भन्ने चिन्ता भने थिएन । कहिले पनि पारिवारिक काममा मैले सहयोग नगरेकाले त्यस्तो लागेको होला । दुई छाक खानका लागि भ्रष्टाचार गर्नुपर्ने परिवार होइन मेरो । बाबुबाजेको सम्पत्तिले खान–लाउन पुग्छ ।
जेल परेको दोस्रो दिन श्रीमती भेट्न आइन् । उनलाई देख्दा म कत्ति पनि भावुक भइनँ । सामान्य लाग्यो । उनले पनि सामान्य रूपमै लिइन् । उनीसँग मेरो प्रेमविवाह भएको हो । बाहुनको छोरी बिहे गरेको थिएँ । बिहे गरेको तीन दिनमै जेल परेँ । त्यसैले म जेल पर्नु उनका लागि नौलो कुरै थिएन । अहिले प्रत्येक शनिबार श्रीमती भेट्न आउँछिन् । शनिबार भिडभाड अलि कम हुन्छ ।
जेलभित्र पनि मेरो दैनिकी उस्तै छ, जो जेलबाहिर थियो । बिहान चार बजे उठ्छु । नित्यकर्मपछि हरेक दिन नुहाउँछु । दैनिक आधा घन्टा पूजामा बिताउँछु । एकछिन जेलको वरिपरि घुम्छु । आधा घन्टा प्राणायाम गरेर बिताउँछु । दाह्री सधैँ काट्छु । कोठामा एउटा टेलिभिजन छ । नेपाली, हिन्दी र अंग्रेजी समाचार हेर्छु । साँझ बिहान पत्रपत्रिका पढ्ने गर्छु ।
जीवनमा धेरैपटक जेल परेँ, अनेकौँ मुद्दा खेपेँ । बाँकी यही भ्रष्टाचारको थियो, यो पनि खेप्दै छु । चोरी, डकैती, हातहतियार खरखजाना, आगजनी, राजकाजलगायतको मुद्दामा पटकपटक जेल परेकै हुँ । त्यसैले मलाई जेल नौलो र अनौठो लागेको छैन । कुनै बेला जन्मकैदको सजायसमेत पाएको थिएँ ।
स्कुल पढ्दादेखि नै राजनीति गरेका कारण जेल परेँ । पार्टीका लागि धेरै योगदान गरेँ । तर, पार्टीले मेरा लागि केही गरेन । आफ्नो एउटा कार्यकर्तालाई अप्ठेरो पर्दा पार्टीले सहयोग गर्नुपथ्र्यो, गरेन । त्यसमा मलाई साह्रै दु:ख लागेको छ । पार्टीले चाहेको भए केही सहयोग गर्नसक्ने ठाउँ थियो ।
दिनमा कति भेट्न आउँछन्, गिन्ती नै हुँदैन । यस्तै दुईतीन सय जति हुन्छन् होला । भेट्न आउनेसँग पनि वर्तमान राजनीतिकै बारेमा कुरा हुन्छ । जीवनमा राजनीतिबाहेक केही गरिनँ । त्यसैले कुरा पनि राजनीतिका बाहेक केही हुँदैन ।
जेलले दिएको खानाको सुविधा लिएको छु । सुगर, प्रेसरजस्ता रोग छन् । त्यसैले बिहान उसिनेको चामलको भात र तरकारी खान्छु । साँझ रोटी खान्छु । जेलभित्र रहेको पसलमा यहाँको चामल साट्ने गरेको छु । हप्तामा एक दिन दाल खान्छु । तरकारी, मासु र फलफूल किन्नु पर्दैन । भेट्न आउनेले ल्याउँछन्, त्यसैले पुग्छ ।
यहाँ भित्र सबैले चिन्छन् मलाई । व्यवहार राम्रै छ । मन्त्रीज्यू, नेताज्यू जस्ता शब्दले सम्बोधन गर्छन् । प्रशासनको व्यवहार पनि राम्रो छ । सधैँ लगाउने खाने कुरामा उही जीवनशैली छ, कुनै परिवर्तन छैन ।
लामो समय गृहमन्त्री भएँ । चारजना आइजिपीसँग काम गरेँ । उनीहरूले भनून्, कसैसँग मैले केही मागेको भए । मलाई भ्रष्टाचारी बनाउन लाग्नेहरूको हालत देखिँदै छ सरकारमा बसेर केके गर्दै छन् भनेर । हिसिला यमीले भन्थिन्, ‘भ्रष्टाचारीलाई कारबाही गर्‍यौँ तर उनको हालत जनताले बुझ्दै छन् ।
मलाई जेल परेकोमा कुनै आत्मग्लानि छैन । राजनीतिक जीवनमा केही धब्बा लागेकोमा भने अलिकति दु:ख लागेको छ । यहाँबाट निस्केपछि ती सबै दागहरू निमट्यान्न पार्नेछु । हिजोका दिनमा म कोहीसँग धक मान्थेँ होला, अब कसैसँग धक मान्नुपर्ने वा गुलामी गर्नु जरुरी छैन । निस्फिक्री राजनीति गर्छु ।
धेरैलाई लागेको थियो । मंसिर १४ मा निर्वाचन हुन्छ, खुमबहादुरलाई यही बेला सकाउनुपर्छ भन्ने । तर, निर्वाचन भएन । धेरैलाई थाहा थियो, बाहिरै छाडेर मलाई रोक्न सकिँदैन भन्ने, त्यसैले यहाँ ल्याए । उनीहरूको सपना साकार हुन पाएन । मलाई जेठमा पनि निर्वाचन होला भन्नेमा विश्वास छैन ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्