कवि बुद्धिसागरले उपन्यास विधामा पाइला चालेका छन्। उनको पहिलो उपन्यास 'कर्नाली ब्लुज' सोमबार सार्वजनिक गरियो। उपन्यास फाइनप्रिन्टले छापेको हो। यसअघि बुद्धिसागरको गद्य लेखन अखबारमा सीमित थियो। उनले यसअघि 'हज्जारौं पृथ्वी हज्जारौं आकाश' कवितासंग्रह पाठकमाझ ल्याएका थिए। त्यही संग्रहमा भूमिका लेख्ने क्रममा साथीभाइले आफ्नो गद्यको मिठासलाई पहिल्याएको उनले सोमबार किताब सार्वजनिक समारोहमा बताए।
आफूले उपन्यास लेख्दा राति तीन बजेसम्म नसुतेको बताउँदै उनले आत्मविश्वास पोखे, 'अब म ढुक्कसँग बेलैमा सुत्नेछु र पाठकहरू चाहिँ राति तीन बजेसम्म सुत्ने छैनन्।' सानो उमेरमा वेदप्रकाश शर्माका जासुसी उपन्यासको नक्कल गर्न गरिएको असफल प्रयासको प्रसंग उनले सुनाए। 'केही प्रकाशकलाई फोन गरेको थिएँ र कैलालीको कटासे बजारमा एउटा प्रकाशन संस्थाले उपन्यास छाप्न छाडिसकेको चिठी मलाई पठाएको पनि थियो,' उनी विगततर्फ फर्किए, 'पछि बुवाले मेरो त्यो ख्यालख्यालको उपन्यास फालिदिनुभएछ।'